निखिल उप्रेती र बर्षा शिवाकोटीको ‘कस्तुरी’ निर्माण घोषणा


चलचित्र ‘कस्तुरी’ निर्माणको घोषणा भएको छ। आइतबार निर्माण टिमले औपचारिक घोषणा गरेको चलचित्रमा निखिल उप्रेती र वर्षा शिवाकोटी मुख्य भूमिकामा रहनेछन्। कर्पोरेट क्षेत्रमा टेन प्लास्ट इन्डस्ट्रीज प्रा.लि. मार्फत विभिन्न उद्योग–व्यवसाय सञ्चालन गर्दै छुट्टै पहिचान बनाएका धिरज अग्रवालले अब मनोरञ्जन क्षेत्रमा पाइला चालेका छन्। उनी निर्माताको रूपमा टेन इन्टरटेनमेन्ट प्रा.लि. ब्यानरबाट ‘कस्तुरी’ निर्माण गर्न लागेका हुन्।\

ऋत बोहोराको कथा र निर्देशन रहने यो चलचित्र सस्पेन्स थ्रिलर विधामा निर्माण हुन लागेको हो। उनका अनुसार यस चलचित्रमा रहस्य, डर र उत्सुकता मिसिएको कथा प्रस्तुत गरिने छ। चलचित्रले मनोवैज्ञानिक तनाव, हत्या, अपहरण र षड्यन्त्रजस्ता विषय समेट्ने निर्देशक बोहोराको भनाई छ।

निखिल र वर्षासंगै चलचित्रमा निशा अधिकारी, ब्रजेश खनाल, शेखर चापागाईं र निर्मल शर्माको अभिनय रहनेछ। ब्रजेश खनालले लेखेको चलचित्रको निर्माता धिरज कुमार अग्रवाल हुन् भने सह–निर्मातामा अञ्जली चौधरी रहेकी छन्। निर्माण पक्षका अनुसार ‘कस्तुरी’को छायांकन आउँदो मंसिरदेखि काठमाडौं र आसपासका क्षेत्रमा सुरु हुनेछ भने डिजिटल मार्केटिङ र अन्तर्राष्ट्रिय बजार व्यवस्थापन पनि छिट्टै टुंगो लगाइने निर्माण पक्षले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्