भोलीदेखि प्रदर्शन हुने ‘सोल्टिनी’ को गीत ‘सुन सोल्टिनी’ सार्वजनिक


भाइटिकाको दिन कार्तिक ६ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘सोल्टिनी’ नयाँ गीत ‘सुन सोल्टिनी’ सार्वजनिक गरिएको छ। एसडी योगी र बेनिशा पौडेलको स्वरमा रहेको गीतमा शब्द तथा सङ्गीत प्रशान्त सिवाकोटीको रहेको छ भने कोरियोग्राफी शिशिर खातीले गरेका छन्।

गीतमा चलचित्रका मुख्य कलाकार प्रकाश सपूत र परीक्षा लिम्बु बिचको केमेस्ट्री, रमाइलो नृत्य र लोक पप शैलीको ताजगी झल्किने भिजुअल देख्न सकिन्छ। यसले चलचित्रको कथा पृष्ठभूमि झल्काउँदै दर्शकलाई मनोरञ्जन र उत्साह दुवै प्रदान गर्ने अपेक्षा गरिएको छ।

‘सोल्टिनी’ टिम हालै देशभरका विभिन्न सहरहरूमा देउसी भैलो कार्यक्रममार्फत प्रचार प्रसार गरेको छ। कलाकारहरूले दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै चलचित्रको प्रचारसँगै सांस्कृतिक परम्पराको सम्मान र सामाजिक योगदान दुवै निभाए।

अर्जुन सुवेदीले निर्देशन गरेको चलचित्र अन्तरजातीय प्रेमकथामा आधारित रहेको छ। सामाजिक विभेद, समुदायबिचको असमानता र प्रेममा देखिने सङ्घर्षलाई संवेदनशील रूपमा चित्रण गरेको चलचित्रमा प्रकाश सपूत र परीक्षा लिम्बुसँगै विल्सन विक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, सबु गुरुङ, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेको पनि अभिनय देख्न पाइनेछ। नेपालमा भाइटिकाको दिनदेखि प्रदर्शनमा आउने ‘सोल्टिनी’ अब जापान र क्यानडामा पनि रिलिजको तयारीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्