नेपाली बक्स अफिसमा ‘जेरी अन टप’ को धमाका, क्यानडामा रिलिज हुँदै


असोज ३१ गतेबाट रिलिज भएको चलचित्र ‘जेरी अन टप’ ले बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ। रिलिजको दिनबाट नै आफ्नो आक्रामक व्यापारलाई निरन्तरता दिईरहेको चलचित्रले प्रदर्शनको नवौं दिनमा मात्रै १ करोड माथिको कलेक्सन गर्न सफल भएको छ । यो व्यापार पहिलो दिनको भन्दा बढी हो। बलियो वर्ड अफ माउथ पाएको चलचित्रको पहिलो सातामा ५ करोड बढीको कलेक्सन गर्न सफल भएको थियो।

दोश्रो सातामा चलचित्रले झन् बढी कलेक्सन गर्ने देखिन्छ। अनमोल केसीको करियरमा सर्वाधिक कमाउने र १० करोड माथीको कलेक्सन गर्ने पहिलो चलचित्र बन्ने निश्चित देखिन्छ। ‘जेरी अन टप’ ले हालसम्म यो वर्षकै सर्वाधिक कलेक्सन गर्ने चलचित्रको रूपमा आफुलाई अग्र पङ्ग्तिमा राख्ने पक्का देखिन्छ।

निर्माता सरोज न्यौपानेका अनुसार चलचित्रले शनिबार मात्रै १ करोड १ लाख ३२ हजार ८ सय १३ रुपैयाँ ३३ पैसा कलेक्सन गरेको छ । चलचित्र विकास बोर्डले उपलब्ध गराएको रियल टाइम बक्सअफिस रिपोर्ट सार्वजनिक गर्दै न्यौपानेले आफ्नो चलचित्रले प्रदर्शनको नवौं दिनमा एकै दिन १ करोडको माइलस्टोन क्रस गरेको जानकारी गराएका हुन् ।

एकपछि अर्को दिन आक्रामक विजनेसलाई निरन्तरता दिएको चलचित्रप्रति दर्शक क्रेज आइतबार पनि उस्तै देखिँदा यो क्रमले निरन्तरता पाउने संकेत अग्रिम बुकिङले देखाएको छ । काठमान्डौ र बाहिर दर्शकको उपस्थिती बलियो देखिएको छ। चलचित्रको मेकिङ्ग, निर्देशकीय पक्षसंगै कलाकारको अभिनयले यो पटक दर्शकको मन जितिरहेको छ। अनमोल केसी, आँचल शर्मा र जसीता गुरुङबीचको त्रिकोणात्मक प्रेमको केमेस्ट्रि, अनमोल र पिता भुवन केसीको टकरावलाई दर्शकले रुचाएका छन्। केदार घिमिरेको कमेडी, उषा खड्गीको अभिनय सवै दर्शकले रुचाइरहेका छन्। अनन्या फिल्मस् को प्रस्तुतिमा बनेको चलचित्रलाई सुयोग गुरुङ्गले निर्देशन गरेका छन्।

प्रचारले किन्यो क्यानडा राइट्स

नेपालसंगै विदेशमा पनि राम्रो चलिरहेको चलचित्रको क्यानडा राइट्स प्रचारले किनेको छ। विदेशमा नेपाली चलचित्र प्रदर्शन र विभिन्न इभेन्ट आयोजना गर्दै आएको प्रचारले क्यानडा वितरणको अधिकार पाएको छ । प्रचार नेपाल प्रालिका संचालक आशिष पुरी र चलचित्रका निर्माता विवेक थापाले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

दर्शकको मागबमोजिम क्यानडामा उक्त चलचित्रको वितरण अधिकार किनिएको प्रचारका संचालक पुरीले बताए । उनले क्यानडामा बुकिङ खुला भइसकेको जानकारी दिए । प्रचारका साजनजंग पाण्डेले नोभेम्बर १ बाट क्यानडाका मुख्यमुख्य शहरमा ‘जेरी अन टप’ चलचित्र प्रदर्शन हुने बताए । उनले चलचित्रका लागि टिकट खुला भइसकेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्