दार्जिलिङमा प्रदर्शनमा रहेको ‘होस्टेल ३’ ले मनायो ५१ दिन


नेपालमा प्रदर्शनको ५१ दिन मनाएको चलचित्र ‘होस्टेल ३’ ले भारतका दार्जिलिङमा पनि यो सफलता हासिल गर्न सफल भएको छ। नेपालीभाषीको बाहुल्यता रहेको भारतको दार्जिलिङस्थित एसभिएफ सिनेमा, रिंक मलमा चलचित्रले यो सफलता पाएको हो। चलचित्र सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम र मणिपुरसहित ५० भन्दा बढी हलमा एकैसाथ प्रदर्शन गरिएको थियो।

चलचित्रका निर्देशक सशान कँडेलले भारतमा पनि चलचित्रको ५१ दिन पूरा भएको खुसी व्यक्त गरे। उनले भने, “सर्वप्रथम, यति ठुलो फ्रेन्चाइजलाई विश्वास गरी निर्माण इजाजत दिनुहुने दुर्गिश फिल्म्सलाई धेरै धन्यवाद दिन चाहन्छु। निर्माण, वितरण र प्रचार प्रसारमा सहभागी सबैलाई पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु।”

‘होस्टेल ३’ले क्याम्पस जीवनका उतार चढाव, प्रेम, मित्रता र सङ्घर्षको कथा चित्रण गर्दै युवापुस्तामाझ विशेष चर्चा पाएको छ। चलचित्रमा पारस बम ठकुरी (कुलब्वाय), रिहान गिरी, पदम तामाङ, आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ र आशिष पुरुष लगायत कलाकारहरूको अभिनय रहेको छ।

चलचित्रका लेखक तथा एसोसियट निर्देशक माधव शर्मा, निर्माता सुरेश कँडेल र गोविन्द अधिकारी, सह निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता, कार्यकारी निर्माता शङ्कर कोइराला र लाइन प्रोड्युसर कोसिस राज क्षेत्री रहेका छन्। होस्टेल ३ को टिमले नयाँ चलचित्र निर्माणको घोषणा गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्