छोरासंग खगेन्द्र र वर्षाको ‘हर्ष’
मंसिर १२ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘हर्ष’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक नयाँ पोस्टरमा चलचित्रका तीन मुख्य पात्र खगेन्द्र लामिछाने, वर्षा राउत र बालकलाकार साइमन वादीलाई प्रस्तुत गरिएको छ । यो पोस्टरले चलचित्र पूर्ण रुपमा पारिवारिक कथामा निर्माण भएको झल्को दिन्छ । खगेन्द्र र वर्षा छोरासँग खुशी भावमा प्रस्तुत छन् । जसले सन्तानप्रति अभिभावकको लगाव त्यसले दिने आनन्दायी क्षणलाई चलचित्रको मुल कथाको रुपमा प्रस्तुत गरिएको आभाष पोस्टरले गाराएको छ ।

चलचित्रलाई डेव्यु निर्देशक एकता पौडेलले निर्देशन गरेकी हुन् । उनी स्वर्गिय निर्देशक शिव रेग्मीकी भान्जी हुन् । न्यूयोर्क फिल्म एकेडेमीमा चलचित्र मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा चलचित्र समेत निर्माण गरेकी छन् ।
चलचित्रमा खगेन्द्र, वर्षा र साइमनसहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापितको अभिनय छ । चलचित्रमा आलोक शुक्लाको छयांकन, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी रहेको छ ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई- प्राईम मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता चलचित्रमा रहेका छन्। चलचित्रको आगामी मंगलबार अर्थात् कार्तिक १८ गते ट्रेलर सार्वजनिक हुनेछ ।





