कस्तो छ प्रदिप खड्काको ‘एक्लो’ टिजर?
अभिनेता प्रदिप खड्का प्रमुख भूमिकामा रहेको चलचित्र ‘एक्लो’ को टिजर सार्वजनिक भएको छ । पौष १७ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रको टिजरले पैसा र सत्ताका लागि हुने लडाइँलाई प्रमुख कथा बनाएको देखिन्छ। टिजरमा रहस्यमय कथा र पात्रहरू बीचको संघर्ष प्रस्तुत गरिएको छ।

टिजरमा प्रदिपको अनुहार पूर्ण रुपमा देखाइएको छैन। अभिनेत्री कविता नेपाली र बेलायती अभिनेता जेमी बेकन ब्रिटिश पुलिसको भूमिकामा देखिएका छन् भने अर्की अभिनेत्री वेनिशा हमालको गेटअपले रानीको झल्को दिन्छ। एनआरएन समूहको लगानीमा प्रदिप खड्का समेत निर्माता रहेको चलचित्रमा प्रदीप शाहीको लेखन तथा निर्देशन रहेको छ। चलचित्रमा विजय लामा, सुनिल थापा, दीया पुन, दिनेश डिसी, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी लगायतको अभिनय रहेको छ।
विनोद सुवेदी ‘क्षितिज’ कार्यकारी निर्माता रहेको चलचित्रमा बाबु श्रेष्ठको छायांकन, रुपेश तामाङको सम्पादन, रोहित शाक्यको संगीत र राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा स्टल नै राखेर प्रचार गरिएको चलचित्रलाई चासोका साथमा हेरिएको छ।





