‘पीआर’ को ‘टाटा बाइ बाइ’ गीतमा नीर शाह र गौरी मल्लको डान्स
शोभित बस्नेत निर्देशित चलचित्र ‘पीआर’ को नयाँ गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक भएको छ। गीतमा भिम बी.सी.को संगीत,टेक बी.सी. र प्रीती घिमिरेको स्वर रहेको छ। रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा कलाकार नीर शाह र गौरी मल्लको रमाइलो नृत्य हेर्न सकिन्छ, भने दिक्पाल कार्की र विनिता कार्कीलाई बेहुला–बेहुलीको रूपमा प्रस्तुत गरिएको छ।

सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको चलचित्रमा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायलले अभिनय गरेका छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का,उत्तम के.सी.,दिक्पाल कार्की रहेका छन्। चलचित्र मङ्सिर २६ गतेबाट रिलिज हुँदैछ।
चलचित्रमा प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथा रहेको निर्देशक शोभित बस्नेतले बताए। उनका अनुसार विदेशमा रहेका छोराछोरीको अवस्था र नेपालमा रहेका बुबाआमाले उनीहरुप्रति गरेको अपेक्षा चलचित्रमा समेटिएको छ।
गीत रिलिजपछि निर्देशक बस्नेतले भने,‘पीआरमा दर्शकले रोमान्स, एक्सन र सामाजिक सन्देशको मिश्रण पाउनेछन्। यो नेपालका युवाको सपना र संघर्षको कथा हो, जसले फरक स्वाद प्रदान गर्नेछ भन्नेमा विश्वास लिएको छु।’
रञ्जित साह र सन्तोष तिवारी प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल हुन्। सौरभ सायमी र सौरभ लामाले छायांकन गरेको चलचित्रमा बन्दे प्रसादको सम्पादन रहेको छ। चलचित्रलाइ गणेश बुढाथोकीले लेखेका हुन्।





