पूर्वी नेपालका दर्शक भेट्दै मिरुना र उपेन्द्र, ‘जारी २’ को ‘डिरेक्टर्स कट’ भर्सन हलमा
कार्तिक २१ गते शुक्रबारबाट रिलिज भएको चलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । बिशेष गरि पूर्वी नेपालमा चलचित्रले आक्रामक व्यापार गरिरहेको छ। देशभर नै दर्शकको उल्लेख्य साथ पाएको चलचित्रले पूर्वी नेपालमा झन् राम्रो साथ पाइरहेको छ। लिम्बू समुदायको कथामा आधारित चलचित्रका पूर्वेली दर्शक भेट्न अभिनेत्री मिरुना मगर र निर्देशक उपेन्द्र सुब्बा पूर्वको यात्रामा रहेका छन् ।

सोमबार झापाको दमक र बिर्तामोडमा दर्शकसंग सक्षात्कार गरेको टिमले आज मंगलबार सुनसरीको धरान र इटहरीका विभिन्न हलमा पुगेर दर्शकसंग साक्षात्कार गर्नेछन् । मंगलबारबाट १४ मिनेट लामो दृश्य थपेर चलचित्रले ‘डिरेक्टर्स कट’ भर्सन प्रदर्शनमा ल्याएको छ। निर्देशक सुब्बाले पूर्वका दर्शकको न्यानो स्वागत र मायाले अझै राम्रो चलचित्र बनाउने चुनौती महसुस भएको बताए।
त्यस्तै चलचित्रकी मुख्य अभिनेत्री मिरुना मगरले दर्शकमा आजबाट प्रदर्शमा आएको नयाँ भर्सनले दर्शकमा थप उत्साह पैदा गरेको बताइन् । ‘हिजो हामीले दमक र बिर्तामोडमा दर्शकसँग साक्षात्कार गर्यौं । आज सुनसरीको धरान र इटहरीमा दर्शक भेट्दै छौं । धरान मेरो होम टाउन भएकाले पनि दर्शकसँग साक्षात्कार गर्न अझै उत्साहित छु’, उनले भनिन् ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ ।





