‘मन बिनको धन’ को ‘बा आमा’ गीतमा अशोक र एआरको स्वर
गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘मन बिनको धन’ को नयाँ गीत सार्वजनिक भएको छ । चलचित्रमा समाबेश “बा आमा ” बोलको गीत सार्वजनिक गरिएको हो । अशोक दर्जी र एआर बुढाथोकीको स्वर रहेको गीतमा टंक बुढाथोकी संगीत र शंकर आचार्यको शब्द रहेको छ ।

देशभर दर्शकको राम्रो प्रतिक्रियाको साथमा प्रदर्शन भैरहेको चलचित्रलाई हरेक उमेर समुहका दर्शकले रुचाइरहेका छन्। अशोक दर्जी प्रति दर्शकले देखाएको भावुकता र प्रेम निकै लोभलाग्दो रहेको छ। हलमा दर्शक भेट्न पुगेका अशोक र चलचित्रको टिम प्रती दर्शकले प्रेम दर्शाईरहेका छन्। अशोकको वास्तविक जीवनको कथामा आधारित चलचित्रले दर्शकलाई छोएको छ । चलचित्र हेरेपछि दर्शक रुँदै हलबाट निस्किएका भिडियो सामाजिक संजालमा भाइरल छन्।
चलचित्रमा अशोक दर्जी ,सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा,बुद्दि तामाङ, रवीन्द्र झा,शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर बुढाथोकी,बाबु पराजुली लगायतका कलाकारको अभिनय रहेको छ।
टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’ को कथा बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा तयार चलचित्रको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् भने कार्यकारी निर्मातामा मिनु शर्मा ( सपना) रहेकी छिन् । यस्तै जी.पी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सह- निर्मातामा रहेका छन् । टिकाराम बुढाथोकी चलचित्रका क्रियटिभ निर्देशक हुन् ।





