‘जारी २’ को नयाँ गीत ‘युमा हजुरी’ सार्वजनिक


सफलताका साथ विश्वव्यापी प्रदर्शनरत चलचित्र ‘जारी २ : सङ अफ च्याब्रुङ’को नयाँ गीत सार्वजनिक गरिएको छ । बिहीबार निर्माण कम्पनि बाँसुरी फिल्मस्को युट्युबमा सार्वजनिक गरिएको गीत ‘युमा हजुरी’ मा मनोज थापा मगरको संगीत कम्पोज तथा हर्क साउदको गीत रचना रहेको गीत संगीतकार मनोज थापा मगर र सुनिता थेगिमको स्वर छ । यो चलचित्रले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ । निर्माण टिमले हालसम्म कति व्यापार गर्यो भन्ने आधिकारिक रुपमा सार्वजनिक गरेको छैन् ।

चलचित्रका लेखक तथा निर्देशक उपेन्द्र सुब्बाले दर्शक तथा समीक्षकको सल्लाह अनुसार नै ‘डिरेक्टर्स कट’ पुनः सेन्सर गरेर प्रदर्शनमा ल्याइएको बताउँछन् । दर्शकमाझ ‘डिरेक्टर्स कट’ले उत्साह पैदा गर्दै उत्कृष्ट प्रतिक्रिया पाइरहेको समाजिक सञ्जालमा आएको प्रतिक्रियाबाट देख्न सकिन्छ । निर्देशक सुब्बा र अभिनेत्री मिरुना मगर बुधबार मात्रै पूर्वीनेपालका दर्शक साक्षात्कार सकेर काठमाडौं फर्केका थिए ।

लिम्बु समुदायको कथामा निर्माण भएको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ । बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्