‘झरीपछिको इन्द्रेणी’ पुषमा रिलिज तय
अर्जुन घिमिरे ‘पांडे’ को निर्देशनमा तयार भएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को रिलिज मिति तय भएको छ। चलचित्र अब पौष ४ गतेबाट रिलिज हुनेछ। निर्माण टिमले यहि शनिबार चलचित्रको पहिलो गीत सार्वजनिक गर्ने तयारी गरेको छ। ‘फसायो लमी’ले बोलको गीतको भिडियोमा दिपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामासहितका कलाकार देखिनेछन्ल अधिकारी र लामाको चलचित्रमा अतिथी भूमिका हो।

समीक्षा अधिकारी र वसन्त थापाको स्वर रहेको गीतमा रमेश परियारको शब्द र संगीत रहेको छ। भिडियोमा मौसम हिमालीको नृत्य निर्देशन रहेको छ। नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको चलचित्रमा अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का र राम कार्की सह- निर्माता रहेका छन्। बुद्ध थापाले चलचित्रलाई खिचेका छन्।
चलचित्रमा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली लक्षणा राईलगायतको अभिनय रहेको छ। यहि चलचित्रका लागि अभिनेता गणेश उप्रेती अमेरिकाबाट नेपालमा सुटिङका लागि लामो समयपछि फर्किएका थिए। निर्देशक घिमिरेको कथा रहेको चलचित्रको पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेको पनि योगदान रहेको निर्माण पक्षले जनाएको छ।




