भारतमा भोलीबाट ‘ऊनको स्वीटर’ रिलिज हुँदै, सुजन चापागाई सिक्किममा गुन्जिए
नेपालमा व्यावसायिक हिसाबले सफल बनेको चलचित्र ‘ऊनको स्वीटर’ यहि शुक्रबारबाट भारतमा प्रदर्शनमा आउंदैछ। प्रदर्शन लक्षित प्रचारका लागी सिक्किममा बुधबार ‘ऊनको स्वीटर साँझ’ को आयोजना गरिएको थियो। सिक्किमको राजधानी गान्तोकस्थित महात्मा गान्धी (एमजी) मार्गमा हजारौ दर्शकको बीचमा गायक सुजन चापागाई गुञ्जिएका थिए।

उनीसँगै अभिनेता विपिन कार्की, अभिनेत्री भावना खपांगी मगर, निर्देशक नवीन चौहान, गीतकार हर्क साउद, सङ्गीत निर्देशक कोविद बज्र, छायाङ्कन निर्देशक चिन्तन राजभन्डारी, कार्यकारी निर्माताहरू मिलन खत्री र सागर बुढाथोकी लगायत टिमका सदस्यहरू उपस्थित थिए।

सिक्किम र दार्जिलिङ क्षेत्रका चर्चित कलाकारहरूसमेत कार्यक्रमको आकर्षण बने। अनमोल गुरुङ, प्रकाश क्षेत्री, सिम्रन गुरुङ, रिको लामा, र्यापर देवा, सोनम ओङ्मु इथेन्पालगायतका कलाकारहरूले आफ्ना प्रस्तुति दिए। त्यस्तै, अमृता राईले चलचित्रको चर्चित गीत ‘काफ्ले’ मा नृत्य प्रस्तुत गरिन् भने नेपालबाट गएका नर्तक सुरज सिंहजाली मगरले ‘चाइनेजो जिन्दगानी’मा प्रस्तुति दिए।
‘ऊनको स्वीटर’ नोभेम्बर २१ देखि दार्जिलिङ, सिलिगुडी, गान्तोक, कर्स्याङ, कालिम्पोङ, आसाम र दिल्लीका प्रमुख हलहरूमा रिलिज हुँदैछ। यसअघि भारतको सेन्सर बोर्डबाट पास भइसकेको चलचित्रलाई एसली प्रोडक्सनले वितरण गर्दैछ। बिहीबार साँझ सिक्किममा विशेष प्रिमियर शो आयोजना गरिएको छ।
सोही अवसरमा गायक सुजन चापागाईँले आगामी डिसेम्बर २३ मा गान्तोकमा ‘सुजन चापागाईँ एन्ड द इन्फिनिटी’ ब्यान्डको कन्सर्ट हुने घोषणा गरे।






