‘अभिमन्यु : च्याप्टर–१ ’को नयाँ गीत सार्वजनिक
मङ्सिर १८ गतेबाट रिलिज हुने चलचित्र ‘अभिमन्यु : च्याप्टर–१ ’को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक भएको छ ।

सुुशान्त गौतमको स्वर तथा संगीत रहेको गीतमा सुरेश बादलको शब्द रचना छ । प्रेममा छटपटिएको प्रेमीले प्रेमिकाको सम्झनामा जीवन समाप्त गर्न पनि नसकेको र चयनले बाँच्न पनि नसकेको थिममा गीत तयार भएको छ । गीतको भिडियोमा चलचित्रका मुख्य दुई पात्र कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा छन् । चलचित्रका फुटेज समावेश गरिएको भिडियोमा तराई–मधेश देख्न सकिन्छ ।
चलचित्रमा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।सुशान्त गौतमले निर्देशन गरेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा छन् । विनोद पौडेल र गुञ्जन गिरी निर्माता, रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।






