‘मिरमिरे’ मा बाबु- छोरीको कथा, के जित्ला पारिवारिक ड्रमाले दर्शकको मन ?


पछिल्लो समय नेपाली चलचित्र बजारमा पारिवारिक सम्बन्धका कथाका चलचित्रले राम्रो व्यापार गरिरहेका छन्। पारिवारिक ड्रामामा दर्शकको रुचि बढिरहेको बेलामा गएको बर्ष बाउ छोराबीचको सम्बन्ध रहेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ ले ऐतिहासिक ग्रसकलेक्सन गर्‍यो । यहि बर्ष त्यस्तै कथामा रहेको चलचित्र ‘परना’ १७ करोड माथीको व्यापार गर्दै अझै बक्स अफिसमा आफ्नो उपस्थिति बलियो बनाइरहेको छ।


बाउ र छोराको सम्बन्धका कथा दर्शकले रुचाइरहेको बेला अर्को एक चलचित्रले बाउ -छोरी बीचको कथा बोलेको छ। यम शेर्पाको निर्देशनमा तयार भएको चलचित्र ‘मिरमिरे’ ले बाउ र छोरी बीचको सम्बन्धको कथा भन्छ। छोरीका लागी बाउले गरेको संघर्षको कथा बोल्ने चलचित्र माघ १ गतेबाट रिलिज हुँदैछ। आमाले घर छाडेर हिडेपछि सानी छोरीका लागी गरेको संघर्षको कथा चलचित्रले बताउने निर्माण टिमले जानकारी दिएको छ।

छोरीको स्याहार, घरको काम, छोरीको स्कुल र आफ्नो जागिर कसरी एक्लै बाउले गर्छ ? यही क्रममा बाउले छोरीप्रति निभाएको कर्तव्य ‘मिरमिरे’मा छ । छोरीले आफ्नो बुवालाई गर्ने माया र छोरीका लागि बुवाले गर्ने त्यागको कथा लिएर आउँदा दर्शकले मन पराउनेमा ‘मिरममिरे’को निर्माण टिम ढुक्क छ ।

“हरेक बुवाआमालाई आफ्ना सन्तानको अथाहा माया हुन्छ । त्यो माया कति देखाउने भन्ने मात्रै हो,” मिरमिरेका निर्देशक यम शेर्पा भन्छन्, “बुवाले छोरीलाई गर्ने माया र उसका लागि गरेको त्याग हाम्रो चलचित्रले देखाउँदैछ ।”

यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्