‘रमिताको पिरती’ मा आना र समिरको लोभलाग्दो पिरती
आना शर्मा र गायक समिर श्रेष्ठ प्रमुख भूमिकामा रहेको चलचित्र ‘रमिताको पिरती’ को गीत सार्वजनिक भएको छ। पोष्टर र टिजर रिलिजसंगै चर्चामा रहेको चलचित्रमा समावेश ‘तिमि भए काफी’ गीत सार्वजनिक भएको हो। सार्वजनिक गीतमा समिर श्रेष्ठको नै शब्द, संगीत र स्वर रहेको छ। युवा पुस्ताका लोकप्रिय गायक श्रेष्ठको यो गीतले पनि दर्शकको मन जित्ने पक्का रहेको छ ।

गीतको भिडियोमा नायिका आना शर्मा र नव–नायक तथा गायक समीर श्रेष्ठको रोमान्स हेर्न सकिन्छ । थाइल्याण्डको रमणीय लोकेशनमा आना र समीर रोमान्टिक देखिएका छन् । गीतको भिडियोको कोरियोग्राफी, सिनेमाटोग्राफी लोभलाग्दो छ । झोलेको डीओपी रहेको यो गीतको भिडियो आकर्षक देखिएको छ। माघ २३ गतेबाट रिलिज हुने चलचित्रले एक युवतीको जीवन, संघर्ष, प्रेम र आरोह–अवरोहलाई प्रस्तुत गरेको छ ।
सुदिप्ताले निर्देशन गरेको चलचित्रमा आना शर्मा, धिरज मगर, समीर श्रेष्ठ, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना, थिन्ले लामो लगायतका कलाकारहरुको अभिनय छ । सागर लम्सालको निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा आना शर्मा र सन्तोष लम्साल र आरपी प्रोडक्सन, गणेश पाण्डे, सुभाष कोइराला र प्रवेश लामिछाने एसोसिएट निर्माताको रुपमा छन् ।



