‘मिरमिरे’ मा सृजनासंग दया र प्रकाशको प्रेम (भिडियो)
चलचित्र ‘मिरमिरे’ को शिर्ष गीत सार्वजनिक भएको छ। प्रकाश सपुत र मेलिना राईको स्वरमा रहेको ‘मिरमिरे भो’ गीतमा प्रकाशको नै शब्द र संगीत रहेको छ। रोमान्टिक शैलीमा तयार गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु छन् । त्रिकोणात्मक प्रेम कथा भिडियोमा प्रस्तुत गरिएको छ।

माघ १ गतेबाट प्रदर्शनमा आउने चलचित्रको टिजरमा बाबा र छोरीबीचको भावनात्मक दृश्य समेटिएको छ। दर्शकले टिजरलाई मन पराएका छन्। ‘मिरमिरे’ मा बुवाको भूमिकामा दयाहाङ राई छन् भने छोरीको पात्र शाइसा गौचनले निभाएकी छन् ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् । चलचित्र यम शेर्पाको लेखन तथा निर्देशनमा तयार भएको छ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।



