‘आ बाट आमा’ को शीर्ष गीतमा कभर गीत र अभिनय गरेर ५० हजार जित्ने अफर
चन्द्र पन्तको निर्देशनमा तयार भएको चलचित्र ‘आ बाट आमा’ माघ १६ गतेबाट रिलिज हुँदैछ। प्रचार सामाग्रीबाट दर्शकको राम्रो साथ पाइरहेको चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ। यतिबेला चलचित्रमा समावेश शिर्ष गीत ‘ लैजा खबर ए हावा’ ले दर्शकको राम्रो साथ पाइरहेको छ। सामाजिक संजालमा राम्रो लोकप्रियता पाइरहेको गीतको कभर गायन प्रतियोगिता निर्माण टिमले आयोजना गरेको छ। कभर गाउने र अभिनय गर्नेले ५० हजार पुरस्कार जित्ने घोषणा निर्माण टिमले गरेको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले यो गीतको कभर गीत गाउनुपर्ने छ भने अभिनयमा रुचि हुनेले अभिनय गर्नुपर्ने छ। आ-आफ्नो विधामा भिडियो निर्माण गरेर माघ १२ गतेभित्र टिकटकमा अपलोड गर्नुपर्नेछ। सो मितिसम्म अपलोड भएका भिडियोहरूलाई मात्र प्रतिस्पर्धामा समावेश गरिने निर्माण पक्षले जनाएको छ।
उत्कृष्ट अभिनय सहितको भिडियो चयन गरी माघ १४ गते विजेतालाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने निर्देशक चन्द्र पन्तले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा सहभागी हुनेले भिडियो अपलोड गर्दा ओएसआर डिजिटलको टिकटक अकाउन्ट @osrdigitalnp मेन्सन गर्नुपर्नेछ।
आर्य इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट , बेगम नेपाली लगायत कलाकारको मुख्य भूमिका रहेको छ। चलचित्रमा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन्।


