सौगात र सिम्रनको ‘बब डाई’ को छायांकन सकियो
प्रविन श्रेष्ठको निर्देशनमा तयार भैरहेको चलचित्र ‘बब डाई’ को छायांकन सकिएको छ। सौगात मल्ल र सिम्रन पन्त मुख्य भूमिकामा रहेको चलचित्रको दुईगीत बाहेक दृश्यका सम्पुर्ण छायांकन सकिएको निर्देशक श्रेष्ठले बताएका छन् । काठमाडौंको चन्द्रागिरी र किर्तिपुर नगरपालिका भित्रका स्थानहरुमै सम्पुर्ण छायांकन सकिएको हो। केहि सातामा गीतको छायांकनको तयारीमा निर्माण टिम रहेको छ।

रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण भएको चलचित्रमा किर्तिपुरको एक युवाको कथा छ । अभिनेता सौगातले बब डाईको भूमिका निभाएका छन् । निर्देशक श्रेष्ठका अनुसार नेवारी भाषामा दाईलाई डाई भनिने भएकाले चलचित्रको नाम बब डाई राखिएको हो । चलचित्र कमेडी जनरामा निर्माण गरिएको छ । तर चलचित्रमा कमेडीसँग धेरै कुरा पाउन सकिने निर्देशक श्रेष्ठ बताउँछन् ।

चलचित्र सौगात र सिम्रनको साथमा सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तन्डुकार, मनोज महर्जन, कमल देवकोटा, उत्तमराज पाण्डे, रजिन महर्जन, मनोज महर्जन र बालकलाकार अग्रिम पण्डितको अभिनय रहेको छ ।
चलचित्रमा मैनिषा गौचन र प्रबिन श्रेष्ठको कथा रहेको छ । चलचित्रमा राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्माता हुन् भने रबिन्द्र प्रजापती कार्यकारी निर्माता हुन् । चलचित्रको प्रदर्शन मिति तोकिएको छैन ।




