चलचित्र ‘बा- आमा’ निर्देशन गर्दै टंक, अशोक प्रमुख भूमिकामा


आफ्नो पहिलो निर्देशकीय चलचित्र ‘मन बिनाको धन’ ले चार करोड हाराहारीको ग्रस कलेक्सन गर्न सफल भएपछि गायक तथा संगीतकार टंक बुढाथोकी उत्साहित छन्। केहि हलमा प्रदर्शनको ५१ दिन मनाउन सफल चलचित्रलाई दर्शकले राम्रो साथ दिए। उनै टंक अव दोश्रो चलचित्र निर्देशनको तयारीमा जुटेका छन्। चलचित्रको नाम ‘बा- आमा’ राखिएको छ।

चलचित्र ‘बा–आमा’ मा अशोक दर्जी र एआर बुढाथोकी पुनः देखिने भएका छन्। अन्य कलाकारको छनोट प्रक्रिया भने बाँकी रहेको बुढाथोकीले जानकारी दिए। उनका अनुसार चलचित्रको शीर्षक चलचित्र विकास बोर्डमा दर्ता भइसकेको छ।

टंक बुढाथोकीकै कथामा निर्माण हुने चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखिरहेका छन्। बुढाथोकीका अनुसार स्क्रिप्ट लेखन अन्तिम चरणमा पुगेको छ।‘स्क्रिप्ट लेखन लगभग अन्तिम चरणमा छ। त्यसपछि कलाकार छनोटको प्रक्रिया सुरु गर्नेछौँ,’ उनले भने, ‘आगामी वैशाखदेखि छायांकन सुरु गर्ने योजना छ।’

चलचित्रको कथा टंक बुढाथोकीकै लोकप्रिय गीत ‘बा–आमा’ बाट प्रेरित हुनेछ। पहिलो चलचित्रलाई दर्शकले राम्रो प्रतिक्रिया दिएको उल्लेख गर्दै उनले त्यसमा देखिएका कमी–कमजोरी सुधारेर अझ राम्रो चलचित्र निर्माण गर्ने लक्ष्य रहेको बताए। टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘बा–आमा’ की निर्माता विष्णुमाया मैनाली रहनेछिन्।

प्रतिक्रिया दिनुहोस्