युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा ‘गोबर गणेश’ ट्रेलर
चलचित्र ‘गोबर गणेश’ को ट्रेलर युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा पुगेको छ । शुक्रबार रिलिज भएको ट्रेलर युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको हो । आमा र छोराका इमोस्नल सम्बन्ध र छोराले सहरमा गरेको संघर्षलाई ट्रेलरले समेटेको छ । दुई दिनमा २१ लाखभन्दा धेरैले हेरेको ट्रेलरमा ६५ हजारभन्दा धेरै लाइक र १२ सयभन्दा धेरै कमेन्ट आएका छन् ।

“दर्शकले दिनुभएको यो मायाले हामीलाई थप उत्साहित बनाएको छ,” निर्देशक मरिचमान श्रेष्ठ (धुर्वे) भन्छन्, “चलचित्रमा पनि यसैगरी मन पराइदिनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।” बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्र माघ १ गते रिलिज हुँदैछ ।
चलचित्रमा मरिचमान श्रेष्ठ ,वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछाने लगायतका कलाकारको अभिनय रहेको छ ।




