‘पेट्रोल पम्प’ निर्माण गर्दै केकी अधिकारी, सुलक्षणले निर्देशन गर्ने
अभिनेत्री केकी अधिकारीको निर्माण र सुलक्षण भारतीको निर्देशनमा तयार भएको चलचित्र ‘बोक्सीको घर’ ले गएको बर्ष ११ करोड माथिको व्यापार गर्न सफल भएको थियो। सुपरहिट चलचित्रका सुत्रधार यी दुई फेरी नयाँ चलचित्रका लागी जोडिएका छन्। केकी नै प्रमुख भूमिकामा रहने चलचित्र ‘पेट्रोल पम्प’ को औपचारिक घोषणा गरिएको छ। केकीले आफ्नो सामाजिक संजाल मार्फत चलचित्र निर्माणको घोषणा गरेकी हुन्।

बोक्सीको घर रिलिज लगत्तै सुलक्षण र केकीको सम्बन्धमा तिक्तता आएको थियो। दुवैले बोक्सीको घर २ निर्माणको चर्चा गरे पनि त्यो सहकार्य असम्भव भएको थियो। तर आपसी तिक्ततालाई पर राख्दै दुवैले चलचित्रमा सहकार्य गर्ने निर्णय गरेका हुन्।
“बोक्सीको घर रिलिजको समयमा हामीले कुनै इन्ट्रेस्टिङ प्रोजेक्ट र समय मिलेको खण्डमा हामी पुनः सहकार्यमा जुट्ने छौँ भनेका थियौँ,” केकीले भनिन्, “त्यो समय अहिले पेट्रोल पम्ममार्फत आएको छ ।” चलचित्रमा कथा पनि निर्देशक सुलक्षणले नै लेखेका छन् भने निर्माताको रुपमा केकी रहनेछिन्। चलचित्रका कलाकारको बारेमा अन्य कुनै जानकारी गराइएको छैन।




