‘मिरमिरे’ ट्रेलरलाई दर्शकको सकारात्मक प्रतिक्रिया


बुवा र छोरीबीचको भावनात्मक कथा समावेश गर्दै चलचित्र ‘मिरमिरे’ ले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ । हिजो काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरलाई दर्शकले रुचाएका छन्। श्रीमती नभएको घर, आमा नभएका सन्तान र श्रीमती बीनाको श्रीमानको अवस्था ट्रेलरमा चित्रण गरिएको छ।

त्रिकोणात्मक प्रेम कथा रहेको ट्रेलरमा आमा नभएकी छोरीको हेरचाह गर्ने बुवा र छोरीको भावनात्मक कथा छ । आमाले छोरीलाई छोडेर गएपछि छोरीले गरेको अभावको महसुस देखाइएको ट्रेलरले छोराछोरीका लागि आमाको महत्व कति छ भन्ने प्रष्ट पारेको छ । ट्रेलरमा त्रिकोणात्मक प्रेम देखाइएको छ। दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु बीचको त्रिकोणात्मक प्रेमले ट्रेलर मार्फत दर्शकमा कौतुहलता पैदा गर्ने कोसिस निर्माण टिमले गरेको छ।

यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र माघ १ गतेबाट प्रदर्शनमा आउँदै छ । यार्सा फिल्मसको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा,विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको चलचित्रका सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्