हजारौ दर्शक माझ ‘कुमारी’ ट्रेलर सार्वजनिक, युट्युवको ट्रेण्डिङ्गमा प्रवेश


दुई नव कलाकारलाई लिएर अनुभवी निर्देशक दिनेश राउतले निर्देशन गरेको चलचित्र ‘कुमारी’ को ट्रेलर भव्य कार्यक्रमको बीचमा सार्वजनिक गरिएको छ। काठमाडौंको भृकुटीमण्डपस्थित खुला स्थानमा एक भव्य कार्यक्रमको आयोजना गरेर हजारौ दर्शकको भिडमा ट्रेलर सार्वजनिक गरिएको हो। तीन ब्याण्डको लाईभ प्रस्तुतीमा दर्शकले झुम्दै ट्रेलरको पहिलोपटक हेरेका थिए।

खुला आकाशमुनि हजारौँ दर्शक साक्षी राख्दै प्रत्यक्ष रूपमा ट्रेलर रिलिज हुनु आफूले देखेको सपना पूरा भएको प्रतिक्रिया निर्देशक दिनेश राउतले व्यक्त गरे। उनले यति ठुलो सङ्ख्यामा उपस्थित दर्शकको उत्साह अब चलचित्र घरसम्म पनि पुग्ने विश्वास व्यक्त गरे।

ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका पार्श्व गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’को विशेष प्रस्तुति रहेको थियो। साथै लोकप्रिय ब्यान्ड ‘इस्त्रीज’ र ‘त्रिजा प्रधान एन्ड द टुकुचा’ ले पनि दर्शकलाई साङ्गीतिक प्रस्तुतिमार्फत झुमाएका थिए। साङ्गीतिक कन्सर्ट र चलचित्र प्रचारको संयोजनले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

यही चलचित्रबाट डेब्यु गरेका मुख्य कलाकारहरू अबिषेक खड्का र आकृति राजभण्डारीले हजारौँ दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्दै आफूहरूलाई दर्शकले दिएको स्वागतले अत्यन्तै पुलकित बनाएको बताए। दर्शकको उत्साह र तालीले उनीहरू भावुक देखिएका थिए।

ट्रेलरमा देखिने पुरुष पात्र (अबिषेक खड्का) संवेदनशील, रिसाहा र परिस्थितिले थिचिएको युवक देखिन्छ। संवादभन्दा बढी हाउभाउ, आँखाको भाव र मौन अभिनयमार्फत प्रेमभित्रको असहायपनलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ। ऊ प्रेममा पूर्ण समर्पित छ, तर समाज र परिस्थितिसँग निरन्तर सङ्घर्ष गरिरहेको सङ्केत ट्रेलरले दिन्छ।

त्यसै गरी महिला पात्र (आकृति राजभण्डारी) केवल प्रेमिका मात्र नभई आत्मसम्मान, मौन विद्रोह र भावनात्मक साहसको प्रतीकका रूपमा उभिएकी देखिन्छिन्। उनको आँखामा देखिने डर, मौनतामा लुकेको पीडा र निर्णयका क्षणमा देखिने कठोरताले पात्रलाई अझ बलियो बनाएको छ। ट्रेलरले चलचित्र ‘हेर्नु मात्र होइन, महसुस गर्नुपर्ने कथा’ भएको अनुभूति गराउँछ।
ट्रेलर युट्युबको ट्रेन्डिङमा पुगिसकेको छ। कार्यक्रममा उपस्थित लभस्टोरी चलचित्रका सुपरस्टार आर्यन सिग्देल र ‘शाम्बाला’ चलचित्रकी अभिनेत्री थिन्ले ल्हामोले अबिषेक र आकृतिलाई शुभकामना दिए।


विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीद्वारा निर्मित तथा विकास सुवेदीद्वारा लिखित चलचित्र ‘कुमारी’ मा नयाँ अनुहार अबिषेक खड्का र आकृति राजभण्डारीका साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, लगायत कलाकारको अभिनय रहेको छ। छायाङ्कन सुसन प्रजापतिले गरेका छन् भने सम्पादन तथा कलर ग्रेडिङ सुप्रिम पराजुलीको, साउन्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ। चलचित्र माघ २३ गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्