विदेशमा ‘कुमारी’ को माग बढ्दो, यी देशमा हुँदैछ रिलिज
दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्र ‘कुमारी’ को चर्चा नेपालमा यतिबेला चुलिएको छ। सार्वजनिक गीत र ट्रेलरको सफलतासंगै यो चलचित्र प्रति दर्शकको कौतुहलता बढेको स्पष्ट देखिन्छ। नेपालमा मात्र हैन अब यो चलचित्रको विदेश डिमाण्ड पनि बढेको छ ।अस्ट्रेलिया, अमेरिका, क्यानडा र मध्यपूर्वका देशहरूका लागि चलचित्र बिक्री भइसकेको निर्माता महेन्द्र अधिकारीले जानकारी दिए। अस्ट्रेलियामा असकास्ट नेपाल र थ्री केजी इभेन्ट्स, अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोडोराडो, क्यानडामा मेरो इभेन्ट्स तथा मध्यपूर्वका देशहरूमा नेपफिल्मले चलचित्र रिलिज गर्नेछन्।

केहि दिन अगाडी भृकुटीमन्डपमा एक भव्य कार्यक्रमको आयोजना गरेर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो। झन्डै दश हजार (निर्माण टिमका अनुसार) दर्शकको उपस्थितिमा सार्वजनिक ट्रेलरले युट्युवमा दर्शकको राम्रो साथ पाएको छ।
निर्देशक राउतले दर्शकको अभूतपूर्व उपस्थितिमा ट्रेलर सार्वजनिक हुनु आफ्नो सपना पूरा भएको अनुभूति भएको बताउँदै यही उत्साह चलचित्र हलसम्म पुग्ने विश्वास व्यक्त गरेका छन्।
चलचित्र ‘कुमारी’ बाट अबिषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गरेका छन्। उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने लगायत कलाकारहरूको अभिनय रहेको छ। विनिश इन्टरटेन्मेन्ट को ब्यानरमा निर्माण भएको चलचित्रको कथा तथा पटकथा विकास सुवेदी ले लेखेका हुन्। चलचित्रको कार्यकारी निर्माता केदार भुसाल हुन्।




