विजय र बर्षाको ‘मालती मंगले’ बैशाखमा रिलिज तय


नेपाली संगीत क्षेत्रका सफल गायक रामकृष्ण ढकालले निर्माण गरेको चलचित्र ‘मालती मंगले’ ले आफ्नो प्रदर्शन मिति तय गरको छ। चलचित्रको निर्माण टिमले आधिकारिक पोष्टर सार्वजनिक गर्दै वैशाख २५ गते (मे ८) देखि रिलिज हुने घोषणा गरेको हो। सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकारहरु विजय बराल र बर्षा राउतलाई प्रस्तुत गरिएको छ।

आत्मीय र प्रेमिल मुद्रामा सार्वजनिक पोष्टरमा विजयले वर्षाको काखमा आरामदायी भावमा टाउको राखेका छन् भने रातो रङ्गको ग्रामीण पहिरनमा सजिएकी वर्षाले विजयको टाउकोमा आफ्नो टाउको अड्याउँदै मुस्कुराइरहेकी छिन्। विजय बस्यालले पोष्टर तयार पारेका हुन्। रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा तयार भएको चलचित्रलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन्। चलचित्रको कथा निर्देशक पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँले तयार पारेका हुन्।

बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्मावती गुरुङ र स्वीकृति बस्नेत सह-निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता सागर ज्ञवाली हुन् । चलचित्रमा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराई लगायतका कलाकारहरूको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्