‘परालको आगो’ टिजर: प्रकाश र सुहानाको झगडामा सौगातको इन्ट्री
चलचित्र ‘परालको आगो’ को टिजर सार्वजनिक भएको छ। सौगात मल्ल, सुहाना थापा र प्रकाश सपुत प्रमुख भूमिकामा रहेको चलचित्रको टिजरमा यी तीनलाई प्रस्तुत गरिएको छ। टिजरमा प्रकाश सपुत र सुहाना थापा श्रीमान श्रीमतीको भुमिकामा रहेका छन् । दुवैको झगडालाई टिजरमा प्राथमिकता दिईएको छ। श्रीमान श्रीमतीको झगडा छुट्याउन आएका सौगात मल्लको चरित्र पनि आकर्षक देखिएको छ। नेपाली ग्रामिण परिवेशको कथा र सोहि अनुसारको गेटअप र सेटअपले चलचित्रको टिजरमा प्राण भरेको छ।

गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो ’बाट प्रेरित चलचित्रमा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँको अभिनय रहेको छ।
हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रमा सुशील पोख्रेलको लगानी र लक्ष्मण सुनारको निर्देशन रहेको छ। सुशील देवकोटाले लेखेको चलचित्रमा संकल्प भुजेलको छायांकन,मिलन श्रेष्ठको सम्पादन र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ।
गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि चलचित्र निर्देशनमा निर्माण भएको थियो। सोही अनुसार कथालाई नमारिकन नयाँ र उत्कृष्ट रुपमा पुन निर्माण गरिएको निर्माता पोखरेलले बताए। आगामी बैशाख ११ गतेबाट चलचित्र सार्वजनिक प्रदर्शनमा आउंदैछ।


