रेखाले सुरु गरिन् ‘माया भनेकै यस्तो होला’ को छायांकन


रेखा थापाको निर्देशनमा तयार भैरहेको चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन औपचारिक रूपमा सुरु भएको छ । चलचित्रको सोमबार काठमाडौंको शिवपुरीस्थित रोयल ट्युलिप नेशनल पार्कबाट सुटिङ आरम्भ गरिएको हो । चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ , सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ प्रमुख भूमिकामा रहेका छन्। ‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण हुने चलचित्रमा लक्ष्मी गिरी, विशाल पहाडी, रवी डंगोल ‘बेमान’, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेल लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।

हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेको चलचित्रले प्रेम कथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई उठान गर्ने बताइएको छ ।ध्रुव लम्सालको लेखन रहेको यो चलचित्रले प्रेमको वास्तविक परिभाषा खोज्ने प्रयास गर्नेछ ।
करिब ८ बर्षपछि निर्देशनमा फर्किएकी रेखाले यसअगाडी ‘हिम्मतवाली’ र ‘मालिका’ चलचित्र निर्देशन गरेकी थिइन्। चलचित्रलाई आगामी तीजमा रिलिज गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्