‘जेरी अन टप’ निर्मात्रीले ‘टीका’ बनाउने , ऋचा र बर्षा मुख्य भूमिकामा


नारीप्रधान नेपाली चलचित्र ‘टिका (Stateless Soul)’ को निर्माण घोषणा गरिएको छ । भविष्य खड्का फिल्मस् प्रालीको प्रस्तुति तथा थर्ड आइ आर्ट्स प्रालीको सहकार्यमा यो चलचित्र तयार हुनेछ । नेपाली समाजमा महिलाले भोग्ने संघर्ष, आत्मसम्मान, अस्तित्व र आत्मनिर्भरताको कथा प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण हुन लागेको यो चलचित्रलाई शंकर कार्कीले निर्देशन गर्नेछन् ।

निर्माण घोषणासहित आइतबार सार्वजनिक गरिएको चलचित्रको थीम पोस्टरमा ‘टिका’लाई रातो रंगको गोलाकारभित्र सेतो अक्षरमा लेखिएको छ । जसले चलचित्रमा समेटिने संघर्ष, पराक्रम र नैतिक स्वच्छताको संकेत गर्छ ।

सुपरहिट चलचित्र ‘जेरी अन टप’ निर्मात्री भविष्य खड्का निर्माता रहेको यो चलचित्रमा प्रमुख कलाकारको भुमिकामा अभिनेता महेश त्रिपाठी, अभिनेत्रीद्वय ऋचा शर्मा, वर्षा शिवाकोटी र हाँस्य कलाकार निर्मल शर्मा अनुबन्धित भइसकेका छन् । साथमा बाल कलाकार आयुशी ढकाल पनि प्रमुख अभिनयमा रहनेछिन् । अन्य कलाकार र प्राविधिकहरू छनोटको चरणमा रहेको चलचित्रका कार्यकारी निर्माता तेजविक्रम केसीले बताए ।

चन्दन झा र निर्देशक कार्कीको कथामा तयार हुने चलचित्रको पटकथा रामकुमार श्रेष्ठले लेखेका छन् । चलचित्र ‘टिका (Stateless Soul)’ले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि बोल्नेछ, केसीले भने, ‘सशक्त कथा, उत्कृष्ट अभिनय र प्रस्तुतीकरणमार्फत दर्शकलाई फरक अनुभव दिलाउने निर्माण टिमको अपेक्षा छ।’

प्रतिक्रिया दिनुहोस्