पोखराबाट सुरु भयो ‘जिरो डिग्री’को छायाङ्कन


आकास बराल र साजन काफ्लेको संयुक्त निर्देशन तथा पटकथामा तयार हुँदै रहेको चलचित्र ‘जिरो डिग्री’को छायांकन पोखराबाट सुरु भएको छ। पोखराको अर्मलाकोट मन्दिरमा शुभ मुहूर्त गर्दै चलचित्रको औपचारिक छायांकन सुरु भएको हो। मेघौली फिल्म्सको ब्यानरमा तयार हुने चलचित्रमा विजय बराल र सनिशा भट्टराई प्रमुख भूमिकामा रहेका छन्। डार्क कमेडी चलचित्रले सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्किन्जेल शवलाई सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर गाउँ उक्लिँदा आइपर्ने उथलपुथल र रमाइला परिस्थितिहरूको कथा भन्ने छ।

चलचित्रमा विजय र सनिशाको साथमा प्रकाश घिमिरे, राजन भुसाल, शारदा सिलवाल, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक, सन्जोग रसाइली, प्रवेश महतरा क्षेत्री, सबिना थापा क्षेत्री, राम बाबु रेग्मी, सुवास गजुरेल र बासु खनाल लगायतका कलाकारहरूको अभिनय रहनेछ। कास्की जिल्लाको अर्मलाकोट र धिताल गाउँका रमणीय तथा मौलिक बस्तीहरूमा छायांकन गरिने चलचित्रको ३५ दिनको सेड्युल रहेको छ। कार्यकारी निर्माताका रूपमा मोती कार्की रहेको यस चलचित्रलाई निशाल पौडेलले छायाङ्कन गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्