सामाजिक संजालमा ‘लालिबजार’ गीतको तहल्का
बैशाख १८ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘लालीबजार’ को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ ले दर्शकको राम्रो साथ पाएको छ । रिलिजको ६ दिनमा यो गीतले युट्युवमा ३० लाख नजिकको भ्युज पाएको छ। टिकटक देखि रिल्स सम्म यो गीतको कब्जा रहेको छ। सामाजिक संजालको ट्रेण्डिङ्गमा यो गित परिरहेको छ। खेम सेन्चुरीले तयार पारेको यो गीतमा दीपिका बयाम्बु मगर र खेमको स्वर अनि रमेश बिजीको शब्द रहेको छ। यो गीतको डान्स स्टेप दर्शकले रुचाएका छन्। प्रदिप लामाको कोरियोग्राफीमा अभिनेत्री स्वस्तिमा खड्का र बालकलाकार समाइरा थापाले गरेको डान्स स्टेप दर्शकले रुचाएका हुन्।

टिकटकमा हजारौं भिडिओ बनेका छन्, जहाँ समाइरा र स्वस्तिमाको नृत्यको प्रशंसा भएको शब्दहरू देख्न सकिन्छ । प्रयोगकर्ताहरूले समाइरा र स्वस्तिमाको नृत्य शैली, गायक र गायिकाको आवाजको खुलेर तारिफ गरेका छन् ।
अभिनेत्री खड्काले उक्त गीत निर्माणको विषयमा कुराकानी गर्दै गीतको तयारी दृश्यकै छायांकनको बीच बीचमा गरिएको बताइन । उनले भनिन्, ‘हामीले दृश्य छायांकन गर्दा बचेको समयमा नृत्यको प्राक्टिस गर्थियौ । हाम्री बालकलाकार समाइराले गज्जब नृत्य गरेकी छिन्, उनको कामले पनि मलाई प्रेरणा मिल्थ्यो । यी सानी नानीले गज्जब गरेकी छिन्, मैले पनि मेहनत गर्नुपर्छ भन्ने लाग्थ्यो । हामी सबैको प्रयासले गीत राम्रो बन्यो र अहिले दर्शकले रुचाएको पाउँदा मेहनतको फल पाएको आभाष भएको छ ।’
बर्दियाको राजापुरमा छायांकन गरिएको चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी,प्रदीप ढकाल, जेवी रुवाली, हारुन अली, भूमिका थारु, सागर घिमिरे, झकेन बिसी, कुन्टल लगायतको अभिनय रहेको छ ।
निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता प्रदीप भट्टराई हुन्।


