‘आ बाट आमा २’ मा पल र विपना अनुबन्ध, को को छन् अन्य कलाकार?


यस बर्षको सुपरहिट चलचित्र ‘आ बाट आमा’को अब दोस्रो श्रृंखला निर्माण हुँदैछ । फागुनमा घोषणा गरिएको चलचित्रमा निर्देशक चन्द्र पन्तले औपचारिक रुपमा कलाकार अनुबन्ध गर्न थालेका छन्। सोमबार पन्तले पल शाह र विपना थापासंग लिखित सम्झौता गरेका छन्। पहिलो शृंखला जस्तै दोश्रो शृंखलामा पनि पल र विपना आमा छोराको भूमिकामा देखिदैछन्।

चलचित्रमा अनुबन्ध भएपछि विपनाले मिडिया सामु खुसी व्यक्त गर्दै दोस्रो भागमा काम गर्दैगर्दा अझ जिम्मेवारी थपिएको महसुस भएको बताइन् । चलचित्रलाई पहिलो भागभन्दा उत्कृष्ट बनाउनुपर्ने ठूलो चुनौती रहेको उनको भनाइ छ ।

त्यस्तै, पलले चलचित्रको दोस्रो भागमा पनि आफूलाई विश्वास गरेकोमा निर्देशक पन्तलाई धन्यवाद दिए । उनले भने, ‘म औंलामा गन्न सकिने टिमसँग मात्र नजिक छु । कुनै निर्देशकसँग म यति नजिक भएको चाहिँ चन्द्र दाइसँग हो । उहाँले मलाई अभिभावक जसरी चलचित्रमा काम गराउनुभयो । अब ‘आ बाट आमा २’ मा पनि मलाई विश्वास गर्नुभएकोमा धन्यवाद भन्न चाहन्छु ।’

आगामी बैशाखमा छायांकन गरेर दशैंमा रिलिज गर्न लागिएको चलचित्रमा पल र विपनाबाहेक अरू कलाकार निश्चित भएका छैनन् । चलचित्रको पहिलो भागमा सिम्रन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेल लगायतको पनि मुख्य भूमिका थियो । उनीहरूमध्ये उषा भने दोस्रो भागमा दोहोरिन सक्ने सम्भावना रहेको चलचित्र निकट स्रोतले जनाएको छ । उषा र पलको जोडीलाई दर्शकले रुचाएका छन्। पहिलो भागमा राधा र कृष्णको जोडीलाई दर्शकले अत्याधिक प्रेम दिएका थिए । सोहि कारण पनि दोश्रो शृंखलामा दुवैको जोडी देख्न सकिने अनुमान रहेको छ।

प्रतिक्रिया दिनुहोस्