पारसकी ‘बेहुली’ बनिन् दिव्या, निर्माणमा अर्जुन पोख्रेलको डेव्यु
सामाजिक संजालमा निकै पपुलर पारस बम ठकुरी ‘कुल व्वाई’ आफ्नो डेव्यु चलचित्रबाट नै स्टार बने। ‘होस्टेल ३’ सफलताको सिंगो क्रेडिट उनको काँधमा थियो। सफलताको स्वादबाट डेव्यु गरेका पारसलाई लिएर चलचित्र बनाउने निर्माताको लामै लाइन थियो । तर उनले एक बर्ष कुरेर आफ्नै डेव्यु चलचित्रको टिमसंग काम गर्ने निर्णय गरे। ‘होस्टेल’ को चौथो शृंखलामा पनि उनि अनुबन्ध भैसैकेका छन्। तर त्यो अगाडी यहि टिमले निर्माण गर्ने चलचित्र ‘बेहुली’ मा उनि मुख्य भूमिकामा रहेका छन्। होस्टेल ३ कै अधिकांश प्रमुख कलाकार दोहोरिएको चलचित्रमा दिव्या रायमाझी अभिनेत्रीको रुपमा रहेकी छिन्।

यो चलचित्रको औपचारिक घोषणा संगै शुभ मुहर्त निर्माण टिमले गरेको छ। ‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को प्रस्तुतिमा निर्माण हुने चलचित्रको छायांकन सोमबारबाट गर्ने तयारीमा निर्माण टिम रहेको छ। अर्जुन पोख्रेल निर्माता रहेको चलचित्रले भदौ १२ गतेलाई आफ्नो रिलिज मिति तय गरेको छ। गायन र संगीतको क्षेत्रमा आफुलाई अब्बल स्थापित गरेका पोख्रेल चलचित्र निर्माणमा पहिलोपटक देखिदैछन्।

प्रताप राणाको निर्माण रहेको यस चलचित्रको निर्देशन सशान कँडेलले गर्दैछन् भने कथा माधव शर्माले लेखेका हुन्। चलचित्रमा पारस र दिव्याको साथमा सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानिया, सरिता गिरी, लोकेन्द्र लेखक, सबिन कट्टेल र समायरा थापा मगर लगायतका कलाकारहरूको अभिनय रहनेछ। सुमन थिङ तामाङ कार्यकारी निर्माता रहेको चलचित्रको सह- निर्मातामा दुर्गा खरेल र रमेश सिलवाल रहेका छन्। चलचित्रको क्रिएटिभ प्रोड्युसरको शंकर कोईराला हुन् भने मुख्य सहायक निर्देशकमा सुदीप कुँवर, सहायक निर्देशकमा योगेन्द्र कार्की र मार्लोभ ढुङ्गाना रहेका छन् ।


