चैत्र २७ मा ‘राम नाम सत्य’ सोलो रिलिज हुँदै, विराजको स्टारडमको हुनेछ परीक्षा


नयाँ वर्षको अवसर पारेर चैत्र २७ गतेबाट तीन नेपाली चलचित्र रिलिजको तयारीमा रहेका थिए।  बिराज भट्टको ‘राम नाम सत्य’, रेखा थापाको ‘३६ को आँकडा’ र सागर लम्साल बलेको ‘डल्लेले मार्यो इन्ट्री’ एकसाथ रिलिजको तयारीमा रहेका थिए।  तर अव दुई चलचित्र रिलिज नहुने भएपछि ‘राम नाम सत्य’ ले चैत्र २७ मा सोलो रिलिजको अवसर पाएको छ।  रेखाको चलचित्रको प्राविधिक काम नसकिँदा तोकिएको समयमा रिलिज नहुने भएको छ भने बलेको चलचित्रले पनि आफ्नो रिलिज मिति स्थगन गरेको छ।  

माइकल चन्दको निर्देशनमा रहेको चलचित्रका हालसम्म सार्वजनिक प्रचार सामग्रीले दर्शकको राम्रो साथ पाएको छ।  सार्वजनिक गीत र टिजर लोकप्रिय बनेका छन्।  सोही कारण पनि यो चलचित्रलाई चासोका साथमा हेरिएको छ।  बलियो स्टारकाष्टका कारण पनि प्रतीक्षित रहेको चलचित्रले सोलो रिलिजको फाइदा कति उठाउने हो त्यो भने हेर्न बाँकी रहेको छ । यो चलचित्रले बिराज भट्टको स्टारडमको पनि परीक्षा लिने छ।  बिराज र समीर अभिनीत १२ गाउँले बम्पर व्यापार गरेको थियो।  समीरको बलिदान व्यावसायिक रूपमा असफल हुँदा अव विराजको स्टारडमको परीक्षा चैत्र २७ मा हुनेछ।  

चलचित्रमा बिराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार, दिनेश डीसी लगायतका कलाकारहरुको अभिनय छ ।

चलचित्रलाई लिएर उत्साहित छु – दिव्या रायमाझी 

चलचित्रकी अभिनेत्री दिव्या रायमाझीले चलचित्रलाई लिएर उत्साहित रहेको बताएकी छिन्।  उनी भन्छिन्–‘म चलचित्रलाई लिएर निकै उत्साहित छु । मैले पहिले गरेको काम भन्दा भिन्न तरिकाले आएको छु । काम पनि मैले धेरै देखाउन पाएको छु ।’

चलचित्रमा दिव्याले आधुनिक राजकुमारीको भूमिकामा देखिन लागेको खुलासा गरिन् । दिव्या भन्छिन्–‘चलचित्रमा एक्सन भरपुर छ । तर, यो एक्सन चलचित्र मात्र होइन । यसमा इमोशन छ, सस्पेन्स छ, प्रेम छ । सबै कुरा मिलेर एउटा उत्कृष्ट चलचित्र बनेको छ ।’

प्रतिक्रिया दिनुहोस्