‘बाः एक योद्धा’ मा एकसाथ झरना र सुहाना


छायांकनरत चलचित्र ‘बाः एक योद्धा’ मा अभिनेत्री तथा निर्देशक झरना थापा र अभिनेत्री सुहाना थापालाई दर्शकले एकसाथ देख्न पाउने पाएका छन्। दुवैले चलचित्रमा आमाछोरीको नै भुमिका निर्वाह गर्ने निर्देशक हरि लम्सालले जानकारी दिए । दुवैजना यतिबेला एकसाथ चलचित्रको छायांकन गरिरहेका छन्।

गत चैत्र ९ गते पशुपतिनाथ मन्दिरमा शुभ मुहूर्तसहित छायांकन सुरु गर्दा चलचित्रका कलाकारहरूको नाम गोप्य राखिएको थियो । बिहीबार निर्माण पक्षले छायांकन सेटबाट झरना र सुहानाका तस्वीरहरू सार्वजनिक गर्दै चलचित्रका दुई मुख्य कलाकार चिनाएको हो । चलचित्रमा अभिनेता दिव्य देवको पनि मुख्य भूमिका रहेको जनाइएको छ ।

निर्देशक लम्साल स्वयंको कथा तथा पटकथा रहेको चलचित्रका निर्माता वसन्त लम्साल हुन् । संगीतकार तथा गायक समेत रहेका उनले यसअघि विपिन कार्कीलाई लिएर फिल्म ‘कर्मा’ निर्माण गरेका थिए । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भइरहेको चलचित्रका छायाँकार शिवराम श्रेष्ठ हुन् । मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने रहेका छन् ।

चलचित्रले बाबुको महत्त्व र उनको अस्तित्वलाई दर्शाउने जनाइएको छ । निर्देशक लम्सालका अनुसार एउटा बाबुले आफ्नो सन्तानको भविष्य उज्ज्वल बनाउनका लागि गर्ने अथक त्याग, जीवनभर झेल्ने चुनौती र संघर्षलाई मुख्य कथावस्तु बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्