दशैँमा रिलिज तयारी सहित ‘जारी २’ घोषणा, दया र मिरुनाको जोडी रहने
२०८० मा रिलिज भएको ब्लकबस्टर चलचित्र ‘जारी’ को सिक्वेल ‘जारी २’ निर्माणको औपचारिक घोषणा गरिएको छ। नयाँ बर्ष २०८२ को अवसर पारेर चलचित्रको फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ। चलचित्रमा दयाहाङ राई, विजय बराल र मिरुना मगरको मुख्य भूमिका रहनेछ। सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा प्रस्तुत गरिएको छ । यो चलचित्रको स्लोगन सङ्ग अफ च्याब्रुङ राखिएको छ ।

‘जारी २’ निर्देशक उपेन्द्र सुब्बाको नै लेखन तथा निर्देशन रहनेछ । यो चलचित्र यही वर्षको दशैंमा रिलिज गरिने समेत सार्वजनिक पोस्टरमा उल्लेख गरिएको छ । कवी उपेन्द्र सुब्बाको डेव्यु निर्देशन गरेको जारीले नेपाली बक्सअफिसमा १७ करोड माथीको व्यापार गरेको थियो ।
बैशाख तेस्रो साताबाट फ्लोरमा जाने चलचित्रमा दयाहाङ, विजय र मिरुनासँगै ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहनेछ ।
बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यारमा निर्माण हुने चलचित्रलाई रामबाबु गुरुङले निर्माण गर्नेछन् । चलचित्र सम्पुर्ण छायांकन पाँचथरको विभिन्न पर्यटकिय गन्तव्यमा गरिनेछ ।