सकियो ‘जनै हराएको बाहुन’ को छायांकन, रिलिज कहिले?
चलचित्र ‘जनै हराएको बाहुन’ को छायांकन सकिएको छ । निर्माणपक्षले सोमबार ललितपुरको च्यासलस्थित एक पार्टी प्यालेसमा इन्डक्ल्याप पार्टीको आयोजना गर्दै ३५ दिनमा छायांकन सम्पन्न भएको जानकारी गराएको हो ।
यो चलचित्रको छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा भएको छ । हिमाल न्यौपानेको निर्देशनमा तयार भएको चलचित्रले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राखेको छ । चलचित्रले आमा र छोराबीचको भावनात्मक कथा भन्नेछ । चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।

चलचित्रमा विजय बराल, केकी अधिकारी , मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली लगायतको मुख्य भूमिका छ । यस्तै, चलचित्रमा भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लागायतको अभिनय रहेको छ ।
पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह-निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत र फिलिप डिसी रहेका छन् । चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक रहेको चलचित्रमा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् ।
चलचित्रमा प्रसान्त सिवाकोटी, एसडी योगी, थानेश्वर गौतम र अर्जुन पोखरेलको संगीत रहने छ । नवीन गुरुङ डीओपी रहेको चलचित्रमा कृष्ण परियारको सिनेमोटोग्राफी रहेको छ । भदौमा रिलिज तयारी गरिए पनि चलचित्रको औपचारिक रिलिज मिति भने तय गरिएको छैन।