‘महाभोज’ का कलाकारले मध्यरात किन लेखे एकै खालको स्टाटस


चलचित्र ‘महाभोज’ प्रदर्शनको नजिक रहेको छ। जेठ १५ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रको टिमले नै मंगलबार साँझ एकै स्टाटस लेखे जसले सामाजिक संजालमा सनसनी मच्चायो । कलाकारहरु आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ र निर्देशक दिनेश राउतले ‘सत्य कहिल्यै लुक्दैन’ भन्ने वाक्य फेसबुक र इन्स्टाग्राममा पोस्ट गरेका थिए ।

यो पोस्टले धेरैले टिमभित्र कुनै ठुलो विवाद भएको अनुमान लगाउन पनि भ्याए। तर यो पोष्ट चलचित्रका कुनै सदस्य लक्षित थिएन र कुनै मनमुटाव पनि थिएन। यो चलचित्र प्रचारको एक हिस्सा थियो।

‘सत्य कहिल्यै लुक्दैन’ भन्ने वाक्य भित्तामा लेखिएको दृश्य टिजरमै समावेश छ । त्यसैलाई निर्देशकदेखि कलाकारसम्मले फेसबुक र इन्स्टाग्राममा लेख्दै दर्शकमा कौतुहलता सिर्जना गरेका हुन् । उक्त वाक्यांशकै वरिपरि चलचित्रको कथा घुमेकाले पनि निर्माण पक्षले त्यो रणनीति अपनाएको हो ।

पछिल्लो समय नेपालमा सहकारी ठगी प्रकरण र यसमा राजनीतिक हस्तक्षेप व्यापक रहेको छ। महाभोज पनि यहि बिषयमा निर्माण भएको चलचित्र हो। यहि कारण पनि चलचित्रले ‘सत्य कहिल्यै लुक्दैन’ भन्ने नारालाई स्थापित गरेर सत्यको उजागर गर्ने कोसिस गरेको हुनसक्छ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, वीरेन्द्र सिंह कुशवाह लगायतको पनि अभिनय छ । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा हिमाल कडरिया निर्माता रहेको चलचित्रमा विकास सुवेदीको लेखन तथा राजेश श्रेष्ठको डीओपी छ ।

प्रतिक्रिया दिनुहोस्