ट्रेलरसँगै बढ्यो ‘नरसिंहाः अवतार’को विदेश माग, अष्ट्रेलिया अधिकार विक्री
जेठको ९ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘नरसिंहाः अवतार’को ट्रेलर सार्वजनिक भएपछि यसको हाइप बढेको छ ।
ट्रेलरले हाइप बनाएसँगै नेपाली बजारमा त यसको प्रतिक्षा छ नै, विदेशी बजारमा पनि माग चुलिएको छ । चलचित्रका लेखक तथा निर्देशक दिवाकर भट्टराइले विदेशबाट चलचित्रको माग उच्च भएको भन्दै विभिन्न देशका लागि कुराकानी भइरहेको बताए ।

यसैबिच, नेपाली चलचित्रका लागि सबैभन्दा ठूलो बजार मानिएको अष्ट्रेलियामा यो चलचित्रको रिलिज अधिकार विक्री भएको छ ।
यो चलचित्रको अष्ट्रेलिया विक्री अधिकार बीआई इभेन्ट्सले खरिद गरेको हो । चलचित्रलाई कति रकममा अष्ट्रेलियामा रहेको बीआई इभेन्ट्सले खरिद गर्यो भन्ने निर्माणपक्षले खुलाएको छैन । बीआई इभेन्ट्सकी वर्षा इटानीले भनिन्–‘महानायक राजेश हमालको क्रेज र चलचित्रको चर्चा अष्ट्रेलियामा खुबै छ । यसैले, दर्शकहरुको मागलाई ध्यानमा राखेर हामीले यो चलचित्रको अष्ट्रेलिया अधिकार खरिद गरेका हौं । आशा छ, चलचित्रले अष्ट्रेलियाका दर्शकहरुको मन जित्नेछ ।’ वर्षा ‘भ्वाइस अफ नेपाल’मा सहभागी भइसकेकी गायिका समेत हुन् ।
वर्षाले नेपालमा रिलिज भएको केही समयमै अष्ट्रेलियामा चलचित्र रिलिज हुने बताइन् । नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानीमा तयार भएको चलचित्रमा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ ।