‘महाभोज’ ट्रेलरलाई दर्शकको साथ, विदेश माग बढ्दै


जेठ १५ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘महाभोज’ को ट्रेलर सार्वजनिक भएको छोटो समयमा नै दर्शकको राम्रो साथ पाउन सफल भएको छ । आइतबार काठमाडौंमा एक कार्यकमका बीच सार्वजनिक ट्रेलरले सामाजिक सञ्जाल र दर्शकमाझ राम्रो प्रभाव पर्न सफल भएको छ। दिनेश राउत निर्देशित चलचित्रको ट्रेलर यतिबेला युट्युब ट्रेन्डिङको ६ नम्बरमा पुगेको छ।

ट्रेलरलाई दर्शकले उत्साहजनक प्रतिक्रिया दिएका छन्। दर्शकहरूले ट्रेलरलाई “वास्तविकताको नजिक,” “मन छुने” र “समाजका शोषित वर्गको सशक्त आवाज” जस्ता विशेषणहरूले प्रशंसा गरेका छन् । ट्रेलरको बढ्दो लोकप्रियतासँगै अन्तर्राष्ट्रिय बजारमा पनि ‘महाभोज’ को माग तीव्र रूपमा बढेको छ । यसअघि नै जापान, मध्यपूर्व र अस्ट्रेलियामा प्रदर्शन हुने पक्का भएको यो चलचित्र अब बेलायत र कोरियाका दर्शकहरूले पनि हेर्न पाउने भएका छन् । निर्देशक दिनेश राउतले अन्य विभिन्न देशहरूबाट पनि चलचित्र प्रदर्शनका लागि प्रस्ताव आइरहेको जानकारी दिएका छन् ।

”महाभोज’ को ट्रेलरले सहकारी संस्थामा बचत गरेको रकम डुबेपछि पीडित भएकाहरूको कथालाई प्रस्तुत गरेको छ । चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला जस्ता कलाकारहरूको मुख्य भूमिका रहेको छ । ट्रेलरमा सहकारी पीडितहरूको पीडा, जागिरेहरूको मनोव्यथा र राजनीतिक चलखेल गर्नेहरूको कथालाई मार्मिक ढङ्गले देखाइएको छ । हिमाल कडरिया निर्माता रहेको यो चलचित्र क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको प्रस्तुति हो ।

प्रतिक्रिया दिनुहोस्