‘होस्टेल ३’ चलचित्रले ‘बाउ भर्सेस छोरा’ बनाउने


‘होस्टेल ३’ चलचित्रको सफलतापछि निर्माण टिमले नयाँ चलचित्र निर्माण घोषणा गरेको छ । चलचित्रको टिमले बुधबार बिहान ‘बाउ भर्सेस छोरा’ शीर्षकमा नयाँ चलचित्र घोषणा गरेको छ। सम्मान इन्टरटेन्मेन्टले निर्माण गर्ने चलचित्रले पुस्तान्तरणको कथा भन्नेछ। दुई पुस्ताबीचको सोच, मूल्य र व्यवहारको टकराबलाई केन्द्रमा राखेर निर्माण हुने निर्देशक सशान कँडेलले बताए ।

चलचित्रको घोषणामा प्रयोग गरिएको टाइटल डिजाइनमा दुई फरक पुस्ताका सोचलाई ‘X Generation बाउ’ र ‘Z Generation छोरा’ भनेर चित्रण गरिएको छ । नेपाली समाजमा बढ्दो पुस्तागत टकराब र नयाँ पुस्ताले भोगिरहेको दुर्व्यसनको यथार्थतालाई पर्दामा उतार्न लागिएको लेखक माधव शर्माले बताए । चलचित्रले केवल बाउ र छोराबीचको भौतिक दूरी होइन, सोच, व्यवहार, दृष्टिकोण र जीवनप्रतिको बुझाइमा आएको अन्तरलाई केन्द्रमा राखेको उनले बताए ।

यसअघि ‘होस्टेल ३’ माधव शर्माको लेखन र सशान कँडेलको निर्देशनमा बनेको थियो, जसले प्रदर्शनको ५१ दिन पुरा गरेको थियो । ‘बाउ भर्सेस छोरा’को थप विवरण, कलाकार चयन, छायाङ्कन सुरु हुने मिति र प्रदर्शन समयबारे निर्माण टिमले चाँडै जानकारी दिने बताइएको छ । यस चलचित्रका कार्यकारी निर्माता शङ्कर कोइराला हुन् ।

प्रतिक्रिया दिनुहोस्