‘जन्ते बाख्रो’ को तेस्रो गीत ‘मुकु मुकु म्या’ सार्वजनिक


जेठ २३ मा प्रदर्शन हुने चलचित्र ‘जन्ते बाख्रो’ को तेस्रो गीत सार्वजनिक गरिएको छ । डिजिटल पार्टनर जी टूवान डिजिटलमार्फत आज सार्वजनिक गरिएको तेस्रो गीत ‘मुकु मुकु म्या’ यस चलचित्रको शिर्ष गीत हो । नेपाली ग्रामीण परम्परा र सांस्कृतिक चलनलाई चित्रण गरिएको गीतमा चलचित्रका मुख्य पात्रहरू सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहाडी लगायत फिचर्ड छन् ।

सार्वजनिक गीतमा कृष्ण भारद्वाज र निर्भिकल्पमको शब्द, कृष्ण भारद्वाजको स्वर र रिकेश गुरुङको सङ्गीत रहेको छ । प्रदीप लामाको कोरियोग्राफीमा तयार भएको गीतलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।

यो चलचित्र विशेषगरी विवाह समारोहमा बेहुली पक्षले जन्तीलाई बारी वा खुला ठाउँमा खुवाउने चलन अर्थात् ‘जन्ते बाख्रो’ खुवाउने परम्परामाथि आधारित रहेको निर्देशक सिमोश सुनुवारले बताएका छन् । चलचित्रमा रमेश शाह, कमल देवकोटा, रुषा न्यौपाने, रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुतीमा तयार भएको ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा आधारित छ । सन्तोष गौतमको निर्माण रहेको चलचित्रलाई प्रदीप भारद्वाजले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्