सडक नाटक मार्फत दर्शक भेट्दै ‘महाभोज’ टीम
जेठ १५ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘महाभोज’ ले यतिबेला आफ्नो प्रचारलाई तीव्र बनाएको छ। रिलिज मिति नजिकिदै गर्दा प्रचारका भिन्न शैली अपनाईरहेको चलचित्रले सडक-नाटक प्रदर्शन गरेको छ।

शनिवार साँझ काठमाडौंको गोङ्गबुमा ‘सत्य कहिल्यै लुक्दैन – महाभोज’ शीर्षकको सडक नाटक प्रस्तुत गर्दै सयौँ दर्शकलाई चलचित्रको कथावस्तुबारे जानकारी गराइएको छ । अव चलचित्रको रिलिजसम्म हरेक दिन काठमान्डौका विभिन्न स्थानमा सडक नाटक प्रदर्शन हुनेछ ।

सडक नाटकमा कलाकारहरूले अभिनयमार्फत सहकारी पीडित र पीडक बिचको कथालाई प्रस्तुत गरेका छन् । चलचित्रको मूल कथावस्तुसँग मेल खाने गरी तयार गरिएको यो नाटकको निर्देशन आकाश नेपालीले गरेका हुन् भने लेखक सरिता कठायत हुन् । कलाकारहरूमा सुजन खतिवडा, सन्तोष गिरी, चिराग पनेरु, सरिता कठायत र विनोद प्रकाश धामी छन् । नाटक व्यवस्थापन ट्राईडेन्ट कन्सेप्ट र द क्रियटर्स नेपालले गरेको थियो भने नाटक प्रस्तुति शुभआकाश टिमले गरेको हो ।
दिनेश राउत निर्देशित चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको प्रमुख भूमिकामा रहेका छन्। क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको चलचित्रका निर्माता हिमाल कडरिया र लेखक विकास सुवेदी हुन्।