देशभर प्रचारमा जुट्यो ‘जन्ते बाख्रो’ टीम
सिमोस सुनुवार निर्देशित चलचित्र ‘जन्ते बाख्रो’ रिलिजको संघारमा रहेको छ। जेठ २३ गतेबाट रिलिज हुने चलचित्रको प्रचारमा यतिबेला निर्माण टिम जुटेको छ। आफ्नो प्रचारप्रसारलाई तीव्रता दिन चलचित्रको टिम देशका विभिन्न स्थानमा प्रचार सामग्री पुर्याउन व्यस्त रहेको छ भने कलाकार अन्तर्वार्तामा जुटेका छन्। चलचित्रको प्रचार नेपालको पूर्वी क्षेत्रबाट सुरू भएको हो।

पूर्वीदेखि पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा प्रचार सामग्रीहरू व्यापक रूपमा प्रदर्शन गरेको निर्माता गौतमले जानकारी दिए । ‘हामीले राम्रो चलचित्र निर्माण गरेकाले यसको जानकारी दर्शकमाझ पुर्याउन अथक प्रयास गरिरहेका छौं । झापाका मुख्य शहरहरूमा चलचित्रका पोस्टर तथा अन्य प्रचार सामग्री राखिसकेका छौं । हाम्रो लक्ष्य देशभर ‘जन्ते बाख्रो’ मय वातावरण सिर्जना गर्नु हो,’ निर्माता गौतमले भने ।
चलचित्रको प्रचारका क्रममा सार्वजनिक गरिएका तीन गीत ‘घामै राजा’, ‘अङ्गुरको झुप्पो’ र ‘मुकु मुकु म्या’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छन् । चलचित्रको ट्रेलर सोमबारदेखि इन्टरनेटमा पनि उपलब्ध हुनेछ ।
चलचित्रमा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहाडी, रमेश शाह, कमल देवकोटा, रुषा न्यौपाने, रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारको अभिनय छ ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको ‘जन्ते बाख्रो’ को कथा प्रदीप भारद्वाजले लेखेका हुन् । चलचित्रका निर्देशक सुनुवारका अनुसार यसको कथा विवाह समारोहमा बेहुली पक्षले जन्तीलाई बारी वा खुला ठाउँमा ‘जन्ते बाख्रो’ खुवाउने परम्परामा आधारित सामाजिक कमेडी कथावस्तुमा केन्द्रित छ । चलचित्रमा हरि हुमागाईंको डिओपी, उत्तम हुमागाईंको छायांकन तथा सुनिल शिवभक्तिको सम्पादन रहेको छ ।