अञ्जना बराइली र सुशील श्रेष्ठको प्रमुख भूमिकामा ‘परिवर्तन’ घोषणा


पछिल्लो समय अभिनेता सुशील श्रेष्ठको करियर केहि लयमा फर्किएको देखिएको छ। चलचित्र ‘आउट ल’ मा गरेको एक्सनको चर्चा पाएसंगै उनी चलचित्रमा अनुबन्धित भैरहेका छन्। चलचित्र ‘राम नाम सत्य’ मा उनी बिराज भट्टसंग देखिदैछन् भने दिव्या रायमाझीसंग उनको जोडी बाँधिएको छ।


अव उनी अर्को चलचित्रमा अनुबन्ध भएका छन्। अभिनेत्री अञ्जना बराइलीसंग जोडी बाँधेर चलचित्र ‘परिवर्तन’ को घोषणा भएको छ। चलचित्रमा सुनिल थापा, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, आएशा कार्की, गौतम तिवारी, यमनाथ खरेललगायत कलाकारहरूको पनि अभिनय रहनेछ ।
नेपाली चलचित्र क्षेत्रमा झन्डै ३० बर्षबाट सक्रिय निर्देशक विजय केरुङ्गले चलचित्र निर्देशन गर्नेछन् । ‘माझी दाइ’, ‘आमाको काख’ लगायतका दर्जनौँ चलचित्र निर्देशन गरिसकेका केरुङको यस नयाँ प्रस्तुतिमा एक इमानदार प्रहरी अफिसरको कथालाई केन्द्रीय रूपमा प्रस्तुत गरिनेछ, जसले कानुन प्रतिको कर्तव्य र प्रेम प्रतिको दायित्वबिचको सङ्घर्ष भोग्दै जान्छ ।

दिब्यासी फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण हुने यस चलचित्रका निर्माता दीपक सिवाकोटी हुन् । उनी विगत १५ वर्षदेखि पूर्वी नेपालका सफल युवा व्यवसायीका साथै समाजसेवामा सक्रिय व्यक्ति हुन् । सिवाकोटीले नै चलचित्रको कथा लेखेका हुन् ।चलचित्रको पटकथा तथा संवाद शिवम अधिकारीले तयार पारेका छन् । ‘परिवर्तन’ चलचित्रको छायाङ्कन आगामी हप्ताबाट सुरु हुने बताइएको छ । पूर्वी नेपालका विभिन्न जिल्लाहरूमा छायाङ्कन हुने र यसै वर्षभित्र प्रदर्शनमा ल्याउने लक्ष्य निर्माण पक्षले लिएको छ ।

‘परिवर्तन’ शीर्षकमा यसअघि पनि वि.सं. २०२८ सालमा चलचित्र निर्माण भएको थियो, जसको निर्देशन हिरा सिंह खत्रीले गरेका थिए । अब झन्डै पाँच दशकपछि पुनः यही नाममा अर्को सशक्त कथा लिएर नयाँ ‘परिवर्तन’ दर्शक माझ आउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्