‘महाभोज’ बिशेष शोमा सहकारी पिडितको आँशु, अग्रिम बुकिङ्ग खुल्ला


जेठ १५ गते बिहिबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘महाभोज’ को मंगलबार बिशेष प्रिभ्यु शो आयोजना गरिएको थियो। उक्त शोमा चलचित्रको टिम, पत्रकार र देशभरका सहकारी पीडितहरूबाट चयन गरिएका ६० जना प्रतिनिधिहरूको सहभागिता थियो । चलचित्रले सहकारी अपचलनको कथा र त्यसले आम जनतामा पारेको प्रभावको कथा उठान गरेको छ। सोहि कथा चलचित्रको पर्दामा हेर्दा अधिकांश सहकारी पिडित भावुक देखिएका थिए।


सहकारी पीडितहरूले चलचित्रले उनीहरूकै जीवनको यथार्थ प्रतिबिम्ब झल्काएको अनुभव सुनाउँदै यसको विषयवस्तुले आफूहरूलाई न्यायका लागि अझ सशक्त र प्रेरित बनाएको बताए । चलचित्र प्रदर्शनपछि उनीहरूले सञ्चारकर्मीहरूसामु नाराबाजीसहित उत्साह व्यक्त गर्दै भने, “राज्यले नसुनेको पीडितको आवाज ‘महाभोज’ ले पर्दाबाट बोलेको छ ।”

यस्तै, उनीहरूले निर्देशक दिनेश राउत, निर्माता हिमाल कडरिया, लेखक विकास सुवेदी तथा सम्पूर्ण कलाकारप्रति आभार व्यक्त गर्दै चलचित्रलाई देश विदेशमा बस्ने सम्पूर्ण नेपालीले हेरेर सफल बनाउनु पर्ने धारणा राखे । उनीहरूको भनाइमा, ‘महाभोज’ मनोरञ्जनको माध्यम मात्र नभएर आन्दोलनको स्वर समेत बनेको छ, जसले राज्य संयन्त्रमाथि नै गहिरो प्रश्न उठाएको छ ।

यसैबीच, देशभरका प्रमुख मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिन हलहरूले ‘महाभोज’ को अग्रिम बुकिङ खुला गरिसकेका छन् । ११० बढी शो प्राप्त गरिसकेको चलचित्रका वितरकहरूका अनुसार यो चलचित्र करिब २ सय शो सहित नेपालभर प्रदर्शन हुँदैछ ।

दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको प्रमुख अभिनय चलचित्रमा रहेको छ । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको यो चलचित्रले नेपालसँगै विदेशका केही मुलुकहरूमा समेत एकसाथ प्रदर्शनको तयारी गरेको छ ।

निश्चलले गरे चलचित्र हिट हुने दावी

यहि बीचमा अभिनेता तथा निर्देशक निश्चल बस्नेतले चलचित्र सुपरहिट हुने घोषणा गरेका छन्। उनले चलचित्रको टिमले आयोजना गरेको बिशेष शोमा चलचित्र हेरेपछि उनले निर्देशक दिनेश राउतको अर्को सुपरहिट चलचित्र भनेर घोषणा गरेका छन्। उनले चलचित्रको कथा, स्क्रिनप्ले र अभिनयको खुलेर प्रसंसा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्