२०८२ को पहिलो सुपरहिट चलचित्र बन्यो ‘ऊनको स्विटर’
बर्ष २०८२ को पहिलो सुपरहिट चलचित्रको रुपमा ‘ऊनको स्विटर’ बनेको छ। विपिन कार्की र मिरुना मगर प्रमुख भूमिकामा रहेको चलचित्र बैशाख २६ गतेवाट रिलिज भएको थियो। यो चलचित्र अहिले पनि सफलताका साथ हलमा प्रदर्शन भैरहेको छ। प्रदर्शनको दोश्रो सातासम्म ७ करोड बढीको कमाई गरेको चलचित्रको व्यापार अझै बढिरहेको छ। मल्टीप्लेक्स अन्तर्गतको क्युएफएक्सले चलचित्रलाई सुपरहिट घोषणा गरेको छ।

तेश्रो हप्ता पनि दर्शकको अकुपेन्सी राम्रो पाएको चलचित्रलाई नविन चौहानले निर्देशन गरेका छन्। ‘ऊनको स्विटर’ रिलिजपछि ‘के घर के डेरा २’ र ‘नरसिंहा अवतार’ रिलिज भैसकेका छन् । यी दुवै चलचित्रले यसको व्यापारमा कुनै प्रभाव पार्न सकेका छैनन् । अव ‘महाभोज’ रिलिज पछि यो चलचित्रको व्यापार कति माथी जाने हो थाह हुनेछ। तर यो चलचित्रले १२-१५ करोडसम्मको लाइफटाइम कलेक्सन गरेन अनुमान गरिएको छ। आर्टमाण्डुको प्रस्तुतिमा तयार भएको चलचित्रमा विपीन र मिरूनासहित एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, सुनील पोखरेल, माओत्से गुरूङ लगायत कलाकारको अभिनय छ।