किन गरियो ‘महाभोज’ को प्रदर्शन स्थगित ?


जेठ १५ गतेबाट प्रदर्शन तयारीमा रहेको चलचित्र ‘महाभोज’ को प्रदर्शन स्थगित गरिएको छ। भोलि अर्थात् जेठ १५ गतेबाट राजावादीहरुको आन्दोलन रहेको छ। देशभर फैलिएका विभिन्न आन्दोलन तथा विषम परिस्थितिका कारण उत्पन्न असहज अवस्थालाई दृष्टिगत गर्दै निर्माता हिमाल कडरियाले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदर्शन हाललाई स्थगित गरिएको जानकारी गराएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “पछिल्लो समय देशभर फैलिएका विभिन्न आन्दोलन तथा विस्तारित विषम परिस्थितिका कारण आम जनजीवन प्रभावित भइरहेको अवस्थालाई दृष्टिगत गर्दै, चलचित्र ‘महाभोज’ को प्रदर्शन नेपाल तथा नेपाल बाहिरका सबै देशहरूमा हाललाई स्थगित गरिएको जानकारी गराउँदछौँ ।”

चलचित्रप्रति दर्शकहरूले देखाएको उत्साह र समर्थनप्रति आभार प्रकट गर्दै निर्माताले मुलुकको संवेदनशील परिस्थितिमा दर्शकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको उल्लेख गरेका छन् । उनले अवस्था सामान्य भएपछिको पहिलो सम्भव समयमा नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने जानकारी पनि दिएका छन् ।

‘महाभोज’ लामो समयदेखि प्रचारमा रहेको र सहकारीको रकम अपचलनको कथावस्तुमा निर्माण गरिएको नेपाली चलचित्र हो । यो चलचित्रको प्रिभ्यु शोमा उत्कृष्ट रिभ्यु मिलेको थियो।
दिनेश राउत निर्देशित चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, बुद्धि तामाङ्ग, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्