जेठ ३० मा आउने भयो ‘महाभोज’
जेठ १५ गतेलाई रिलिज मिति तय गरेर तीव्र प्रचार गरिएको चलचित्र ‘महाभोज’ रिलिज मितिको अघिल्लो दिन विषम परिस्थितिका कारण रिलिज स्थगन भयो। बिशेष गरि काठमान्डौमा चलिरहेको आन्दोलनका कारण रिलिज स्थगन गरिएको थियो। अव चलचित्रको टिमले नयाँ रिलिज मिति तय गरेको छ। जेठ ३० गतेबाट चलचित्र देशभर एकसाथ प्रदर्शनमा आउनेछ । निर्माण पक्षले रिलिज मिति सारिएको जानकारी सार्वजनिक गर्दै दर्शकहरूसँग क्षमा मागेको छ । यसै सन्दर्भमा, चलचित्रका निर्देशक दिनेश राउतले दर्शकको धैर्य र समर्थनका लागि आभार प्रकट गरे ।

निर्देशकले भने, “हामीले धेरै मिहिनेतका साथ तयार पारेको चलचित्र ‘महाभोज’ केही विशेष परिस्थितिका कारणले निर्धारित मितिमा रिलिज गर्न सकेनौँ । दर्शकहरूप्रति यसबाट असहजता सिर्जना भएकोमा हामी क्षमा प्रार्थी छौँ ।”
उनले थप भने, “अब चलचित्र जेठ ३० गते रिलिज हुँदैछ । यो हाम्रो समाजको कथा हो, तपाईँहरूको साथ र मायाले मात्र हामी सफल हुन्छौँ । त्यसैले यही मितिमा नजिकको हलमा ‘महाभोज’ हेर्न नबिर्सिनु होला ।”
केही दिनअघि यो चलचित्रको काठमाडौंमा प्रिभ्यु शो आयोजना भएको थियो, जहाँ चलचित्र हेरेका दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिएका थिए । सहकारी पिडितको कथालाई केन्द्रमा राखेको चलचित्र हेरेर हलमा नै दर्शकका आँशु निस्किएका थिए। चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायतका अभिनय रहेको छ । क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको प्रस्तुतिमा बनेको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् ।