‘जन्ते बाख्रो’ साँझमा बग्गीमा गरिमा, दर्शकसंगै नाचे टिम
जेठ २३ गते शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जन्ते बाख्रो’ निर्माण टिमले प्रचारमा फरक शैली अपनाइरहेको छ । यसअघि देशभरका विभिन्न ठूला शहरहरूमा चल्ने साना सवारी साधन टेम्पोमा पोस्टर टाँसेर दर्शकलाई आकर्षित गरेको निर्माण टिमले हिजो शनिबार राजधानीमा फरक शैलीको चलचित्र प्रचारको कार्यक्रम आयोजना गरेको थियो। चलचित्रको टिमले प्रचार प्रसारका लागि ‘जन्ते बाख्रो साँझ’ कार्यक्रम शनिबार सिटी स्क्वायर मलको प्राङ्गणमा भव्यताका साथ सम्पन्न गरेको छ ।

अभिनेत्री गरिमा शर्मालाई दुलहीको भेषमा बग्गीमा राखेर सामाखुसीस्थित बिजी मलबाट ‘जन्ते बाख्रो’ अङ्कित टिसर्ट र बोकाको टाउको सहितको कटाउटमा केही युवालाई प्रस्तुत गर्दै कार्यक्रम स्थल सम्म बिबाहको शैलीमा पन्चे वाजासहित पुर्याएको थियो । जहाँ चलचित्र को निर्माण टिमले ‘जन्ते बाख्रो साँझ’ को आयोजना गरिएको थियो । त्यहाँ चलचित्रमा समावेश गीतहरु ‘घामै राजा’, ‘अङ्गुरको झुप्पो’, ‘मुकु मुकु म्या’ का गायक गायिकाहरु बाबुल गिरी, महेश काफ्ले, अस्मिता अधिकारी लगायतले सयौं दर्शकलाई झुमाएका थिए।
चलचित्रको निर्माण टिमले आयोजना गरेको जन्ते बाख्रो साँझमा मुख्य कलाकारहरू आसिफ शाह, गरिमा शर्मा, विशाल पहारी, कमल देवकोटा, लोकेन्द्र लेखक, समापिका गौतम, निर्देशक सिमोर सुनुवार, लेखक प्रदिप भारद्वाज र निर्माता सन्तोष गौतमको उपस्थिति रहेको थियो।
यस्ता, प्रमोसनल इभेन्टले चलचित्रसँग दर्शकलाई प्रत्यक्ष जोड्न सघाउने भएकाले पनि आयोजना गरिएको निर्देशक सुनुवारले बताए ।

अहिले गाउँघरबाट हराउँदै गएको भुइँमा लहरै बसेका जन्तीलाई टपरी र दुनामा भोज खुवाउने परम्परा, ग्रामीण क्षेत्रको मौलिक चालचलनलाई समेटेर तयार गरिएको ‘जन्ते बाख्रो’ मा परम्परालाई रमाइलो ढङ्गले प्रस्तुत गरेकाले नयाँ पुस्ताका लागि मनोरञ्जनसहति जानकारी प्राप्त हुनेमा निर्माण पक्ष विश्वस्त छ ।
चलचित्र लाई सन्तोष गौतमले निर्माण गरेका हुन् । मुईन इन्टरटेनमेन्टद्वारा निर्मित ‘जन्ते बाख्रो’को कथा प्रदीप भारद्वाजले लेखेका हुन् । चलचित्रमा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन, र सुनिल शिवभक्तिको सम्पादन रहेको छ ।