‘माइतिघर’ मा उपासना र श्यामश्रीको छमछामी


चलचित्र ‘माइतीघर’ को शीर्ष गीतको छायांकन बाग्लुङको कालिका मन्दिरमा सम्पन्न भएको छ । गीतको भिडियोमा नायिकाद्धय उपासना सिंह ठकुरी र श्यामश्री शेर्पाको नृत्य हेर्न सकिन्छ । उनीहरुसँगै यो गीतमा ५० बढी कोरसलाई समेत फिचरिङ गरिएको निर्माता रोहित अधिकारीले जानकारी दिए । ५९ बर्ष अगाडी निर्माण भएको चलचित्र ‘माइतिघर’ मा समावेश गीत ‘वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ को नया भर्सन चलचित्रमा समावेश गरिएको छ।

अहिले पनि उत्तिकै चर्चित रहेको यो गीत आशा भोस्लेको स्वर रहेको थियो। अहिलेको गीतमा भने सञ्जिवनीको स्वर सुन्न सकिनेछ। गीतमा जयदेवको संगीत र किरण खरेलको शब्द रहेको छ। गीतको भिडियोलाई कमल राइले कोरियोग्राफी गरेका हुन् ।


‘माइतीघर’लाई दशैंको फूलपातिबाट रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरिसकेको छ । यो फिल्मलाई उत्कृष्ट बनाउन कुनै पनि कसर बाँकी नराखिएको निर्माता रोहित अधिकारीले जानकारी दिए ।

मिलन तामाङले निर्देशन गरिरहेको चलचित्रमा तामाङ संस्कृतिलाई पनि समावेश गरिएको छ । म्याग्दीको ताकम गाउँ र धारापानी गाउँमा छायांकन गरिएको चलचित्रलाई सुसन प्रजापतिले खिचिरहेका छन्। चलचित्रमा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी रहेको छ भने कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् ।
चलचित्रमा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्